देश/प्रदेश

अमेरिकी सांसदहरूले नेपालमा राहत र पुनर्निर्माण कोषको योजना बनाउन गरे विदेश मन्त्रीसँग आग्रह

Banner

काठमाडौं, भदौ २०-

अमेरिकी सांसदसहित ३० जना कङ्ग्रेस सदस्यले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पत्र पठाउँदै विनाशकारी बाढी–पहिरोबाट प्रभावित नेपालका लागि अमेरिकी राहत तथा उद्धार सहयोग (डार्ट) व्यापक रूपमा बढाउन माग गरेका छन् ।

रो खन्ना, राजा कृष्णमूर्ति, प्रमिला जयपाल, सुहास सुब्रह्मण्यम र रसिदा तलिब लगायतका सांसदले हस्ताक्षर गरेको पत्रमा अमेरिकी विदेश मन्त्रालयलाई ‘उपलब्ध सबै स्रोतसाधनको प्रयोग गरी’ नेपालमा उद्धार तथा राहत कार्य तीव्र बनाउन आग्रह गरिएको समाचार संस्था एएनआईले जनाएको छ । सांसदहरूले नेपालका बाढी–पहिरो प्रभावित क्षेत्रमा अमेरिकी आपत्कालीन विपद् सहायता टोली तत्काल परिचालन गर्न माग गरेका छन् ।

टोलीमार्फत् खोज तथा उद्धार, व्यवस्थापन र आपत्कालीन चिकित्सा सेवा उपलब्ध गराउन उनीहरूले आग्रह गरेका हुन् । उच्च हिमाली क्षेत्रमा उद्धार कार्य सहज बनाउन ‘राष्ट्रिय जियोस्पासियल गुप्तचर एजेन्सी’ र अमेरिकी रक्षा मन्त्रालयसँग समन्वय गरी थर्मल तथा इन्फ्रारेड ड्रोन, भू–उपग्रह तस्बिर र फोन लोकेसन डेटा उद्धार टोली तथा स्थानीय निकायसँग साझा गर्न पनि सांसदहरूले माग गरेका छन् ।

त्यस्तै, बाढी–पहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माण तथा पुनरुत्थानका लागि दीर्घकालीन अमेरिकी सहयोगको योजना बनाउन उनीहरूले आग्रह गरेका छन् । नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेको प्रारम्भिक आँकडालाई उद्धृत गर्दै सांसदहरूले पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान प्रस्तुत गरेका छन् ।

यो रकम नेपालको अर्थतन्त्रको करिब १० प्रतिशत बराबर हुने उनीहरूको भनाइ छ । अमेरिकाले दीर्घकालीन पुनर्निर्माणका लागि ठूलो सहायता प्याकेजको योजना बनाउनुपर्ने सांसदहरूको माग छ । पत्रमा बेपत्ता रहेका अमेरिकी नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन, अमेरिकी दूतावासको हटलाइनमा थप कर्मचारी परिचालन गर्न तथा उनीहरूका परिवारलाई दैनिक रूपमा अद्यावधिक सूचना उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

अमेरिकाले हालसम्म क्याथोलिक रिलिफ सर्भिस मार्फत ५ लाख अमेरिकी डलर तथा थप ३ दशमलव ६ मिलियन डलर मानवीय सहायता घोषणा गरिसकेको छ । तर विपद्को भयावहता र भएको जनधनको क्षतिलाई ध्यानमा राख्दै अमेरिकाले नेपालमा राहत, उद्धार तथा पुनर्निर्माणमा अझ ठूलो र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सांसदहरूको जोड छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>