देश/प्रदेश
शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरणमा संस्थागत स्मृतिको अभावः सुवेदी

काठमाडौं, भदौ २०-
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरणमा संस्थागत स्मृतिको अभाव देखिएको बताएका छन् ।
सुवेदीद्वारा लिखित पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिकरण कार्यक्रममा बोल्दै सुवेदीले २०३६ सालदेखि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलनको २०८३ सालसम्म आइपुग्दा पर्याप्त अभिलेखीकरण हुन नसकेको बताए ।
उनले संगठनहरू भने २००७ सालदेखि नै गठन हुन थालेको उल्लेख गर्दै शिक्षक आन्दोलनको इतिहासलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न नसक्नु दुःखद् भएको बताए ।
उनले भने,‘२०३६ सालदेखि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलन २०८३ सालसम्म आइपुग्दा पनि पर्याप्त रूपमा अभिलेखीकरण हुन सकेन । संगठनहरू २००७ सालदेखि नै सुरु भएका थिए, तर संस्थागत स्मृति हामीसँग रहेनछ । शिक्षक आन्दोलनको इतिहासलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न नसक्नु सबैका लागि पीडाको कुरा हो ।’
उनले शिक्षक आन्दोलनको इतिहास तयार पार्ने क्रममा आफूले विभिन्न स्रोत तथा सामग्रीको अध्ययन गरेको जानकारी दिए । उनका अनुसार कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा पुगेर गोरखापत्रलगायत पुराना पत्रपत्रिका अध्ययन गर्नुका साथै विभिन्न संघसंस्था तथा संगठनका स्मारिका र अन्य सामग्रीहरू खोजी गरिएको थियो ।
पुराना शिक्षक नेताहरूसँग व्यक्तिगत रूपमा अन्तर्वार्ता लिएर त्यसलाई रेकर्डसमेत गरिएको उनले बताए । इतिहास लेखनका क्रममा आफूले आधिकारिक रूपमा प्रमाणित तथ्यलाई मात्र पुस्तकमा समावेश गरेको सुवेदीको भनाइ छ ।
उनले भने, ‘त्यहाँभित्र थुप्रै कुरा छुटेका छन्, छुटेका कुरामा आधिकारिकता प्रमाणित भएमा दोस्रो, तेस्रो संस्करणमा अवश्य समावेश गर्नेछौँ ।’
सुवेदीले इतिहास लेख्दा सकारात्मक र नकारात्मक दुवै पक्ष समेट्नुपर्ने बताए । सही सूचना प्रस्तुत नगर्दा इतिहासप्रति अन्याय हुने भन्दै उनले व्यक्तिको प्रतिष्ठामा सकेसम्म कम आँच आउने गरी तथ्य प्रस्तुत गर्न आफू सचेत रहेको बताए ।
कार्यक्रममा उनले शिक्षक आन्दोलनमा नेतृत्वको अडान र सक्रियतासँगै बौद्धिक पक्षलाई पनि आफूले महत्त्व दिने गरेको बताए । उनले शिक्षक आन्दोलनमा आफूले भेटेका नेतृत्वमध्ये केशव दाइको बौद्धिक पक्ष सबैभन्दा बलियो रहेको धारणा व्यक्त गरे ।
उनले शिक्षक आन्दोलनको इतिहासलाई आगामी दिनमा थप परिष्कृत र समृद्ध बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । पुस्तक प्रकाशनपछि प्राप्त हुने सुझाव, छुटेका तथ्य तथा प्रमाणित सामग्रीलाई आगामी संस्करणमा समेट्ने उनको भनाइ छ ।

























