देश/प्रदेश

पहिरोले कर्णाली करिडोर अवरुद्ध

Banner

बाजुरा, भदौ २० –

गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका-५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका-७ बाधु र जगन्नाथ गाउँपालिका(५ मा माथिबाट आएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत बाधुमा आएको पहिरो पिएस कन्स्ट्रक्सनको जेसिबी प्रयोग गरी हटाएर खुलाइए पनि जगन्नाथको भुकाह खोलामा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।

सडक अवरोध खुलाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । सडक अवरुद्ध हुँदा गन्तव्य स्थानतर्फ जाने सवारीसाधन बाटोमा रोकिएका छन् । अहिले जगन्नाथ गाउँपालिकाको जेसिबी प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको सूचना अधिकारी भाटले बताउनुभयो । लगातारको वर्षाका कारण कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>