खेलकुद

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान, सलहेसले उपाधि रक्षा

Banner

दिलकुमार लिम्बू

ताप्लेजुङ, भदौ २०

चौथो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको फाइनल खेलअघि विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीलाई विशेष सम्मानसहित सम्झना गरिएको छ । शुक्रबार फाइनल खेल सुरु हुनुअघि मैदानमा मेसीको तस्बिरसहितको ब्यानर प्रदर्शन गर्दै विश्व फुटबलमा उनले पु¥याएको योगदानप्रति सम्मान व्यक्त गरिएको हो ।

आयोजकले मेसीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको चर्चा गर्दै अर्जेन्टिनाका लागि उनले राखेको योगदानको प्रशंसा गरेको थियो । ३९ वर्षीय मेसीले हालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

उनले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन् भने विश्वकप उपाधिसहित छ वटा विश्वकपमा सहभागिता जनाउने कीर्तिमान पनि बनाएका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

मेसीलाई सम्मान गर्दै सुरु भएको फाइनलमा सिराहाको सलहेस युवा क्लब ले पाँचथरको फिदिम स्पोर्टिङ क्लब लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको छ ।

उपाधिसँगै सलहेसले ७ लाख २ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फिदिम स्पोर्टिङ क्लबले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदका साथै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

सलहेस सेमिफाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब, कालिम्पोङलाई २–० ले हराउँदै फाइनल पुगेको थियो भने फिदिमले झापा–११ लाई १–० ले पराजित गर्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । दोस्रो संस्करणदेखि लगातार फाइनल खेल्दै आएको सलहेसले गत वर्ष चर्च ब्वाइज क्लब ललितपुरलाई २–० ले हराएर जितेको उपाधि यस वर्ष पनि जोगाउन सफल भएको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फिदिमका अनुकेश शेर्मा घोषित भए । उनले बजाज कम्पनीको मोटरसाइकल पुरस्कार प्राप्त गरे ।

फाइनलमा सलहेसका सनिस श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। सलहेसकै दीप कार्की उत्कृष्ट गोलरक्षक, अविषेक लिम्बू उत्कृष्ट डिफेन्डर र सुशील यादव उत्कृष्ट मिडफिल्डर बने भने फिदिमका हिटेन सुहाङ उत्कृष्ट फरवार्ड घोषित भए । विभिन्न विधामा उत्कृष्ट घोषित खेलाडीहरूले जनही १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य क्षितिज थेबे, कोशी प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामलगायतले विजेता र उपविजेतालाई पुरस्कार वितरण गरेका थिए ।

प्रत्येक वर्ष लाखेजात्रा पर्वको अवसरमा आयोजना हुने प्रतियोगिताको यस संस्करणमा आठ टोली सहभागी थिए । प्रतियोगितामा सलहेस, फिदिम, झापा–११, जर्जियन युनाइटेड कालिम्पोङ, चित्लाङ फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, नेपाल पुलिस क्लब र आयोजक ताप्लेजुङ–११ ले प्रतिस्पर्धा गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>