समाचार
बाढी प्रभावितलाई हेफर इन्टरनेसनल नेपाल र कर्मचारीको साथः १ करोड सहयोग

काठमाडौं,भदौ १९-
हेफर इन्टरनेसनल नेपाल र यसका कर्मचारीहरूले बाढीपहिरो प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेका छन्। हेफर नेपालका कन्ट्री डाइरेक्टर डा तीर्थराज रेग्मीको नेतृत्वको टोलीले सो रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो। डा रेग्मीका अनुसार उक्त रकम संस्थाको आपत्कालीन प्रावधान तथा कर्मचारीहरूले आफ्नो तलबबाट स्वेच्छिक रूपमा गरेको योगदानबाट जुटाइएको हो।
गत भदौ १० गते ९अगस्ट २६० हिमाली क्षेत्रमा हिमताल तथा हिमनदीजन्य घटनापछि आएको विनाशकारी बाढीपहिरोले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण सयौँ परिवार विस्थापित भएका छन् भने सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुग्दा प्रभावित क्षेत्रमा राहत तथा उद्धार पुर्याउनसमेत कठिनाइ भइरहेको छ।
हेफर इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर तीर्थराज रेग्मीले विपत्तिबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सरकारको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग गर्ने प्रतिबद्धतासहित योगदान गरिएको बताउनुभएको छ।
हेफर नेपालले आर्थिक सहयोगसँगै प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने कामसमेत गरिरहेको जनाएको छ। सरकारी निकाय, साझेदार संस्था र स्थानीय समुदायसँग समन्वय गरी प्रभावित परिवारको तत्कालीन आवश्यकता पहिचान गर्ने काम भइरहेको संस्थाले जनाएको छ। संस्थाका अनुसार तत्कालीन राहतपछि पनि प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना तथा समुदाय पुनर्निर्माणमा सहयोग गर्ने योजना रहेको छ। हेफरले नेपालमा कृषि र पशुपालनलाई आधुनिकिकरण र व्यवसायिक बनाउन नेतृत्वदायी भूमिका खेलेको छ।

























