देश/प्रदेश
कर्णालीका उत्पादन सङ्कलन गर्न कोसेली गृह

कर्णाली, भदौ १९-
कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादन सङ्कलन तथा प्रशोधन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजारीकरण गर्न ‘कोसेलीगृह’ निर्माण गरेको छ ।
प्रदेश सरकारको रु एक करोड २४ लाख लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले कोसेलीगृहले यस क्षेत्रमा रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान पु¥याउने बताउनुभयो ।
जिल्ला समन्वय समितिका सुर्खेतका प्रमुख गङ्गाराम सुनारले कर्णालीमा लघु उद्योग सञ्चालन तथा उद्यमीलाई उद्यम गर्ने अनुकूल वातावरण सृजना गर्न सरकारलाई सुझाव दिनुभयो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक मुकुन्दनाथ योगीले रु एक करोड २४ लाखमा चार वर्ष अघि नै निर्माण सम्पन्न भए पनि कतिपय नीतिगत व्यवस्थाकाकारण सञ्चालनमा ढिला भएको बताउनुभयो ।
उहाँका अनुसार स्थानीय कपडा, जडीबुटी, खाद्यलगायतका पाँच प्रकार लघु उद्योग यहाँबाट सञ्चालन भइरहेका छन् । त्यहाँ सञ्चालित उद्योगले अहिले नौ जनालाई रोजगार दिएको तथा वार्षिक रु छ लाख आम्दानी हुने गरेको छ । कच्चा, पदार्थ, स्थानीय श्रम, सीप र प्रविधिको भरपुर उपयोग गरेर यहाँका उत्पादन र पहिचानलाई राष्ट्रि«य तथा अन्तरराष्ट्रि«यकरण गरिने निर्देशक योगीले बताउनुभयो ।
लघु औद्योगिक ग्राम सुर्खेतका अध्यक्ष सुमननाथ योगीले कर्णाली प्रदेशभित्रका स्थानीय उत्पादनलाई बजार, पहिचान र उद्यमीलाई अवसर प्रदान गर्ने उद्देश्यले कोसेली घर निर्माण भएको बताउनुभयो ।
स्थानीय उत्पादन तथा कर्णाली प्रदेशमा उत्पादित रैथाने अन्नबालीको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालन भएको कोसेली गृह आर्थिक विकास र रोजगारी सृजनाका दृष्टिकोण महत्वपूर्ण रहनेछ । रासस
























