देश/प्रदेश
बनेपामा १० हजार कन्या पुजिँदै

बनेपा (काभ्रे), भदौ १९ –
आज बनेपामा १० हजार कन्याको ‘कन्या पूजा’ हुदै छ ।
बिहान १०ः०० बजेदेखि बनेपा भोलाखाटोलस्थित गणेश स्थानबाट कन्या पूजा गर्न सुरु गरिएको हो । प्रत्येक वर्ष बनेपामा श्रीकृष्ण जन्माष्टमीका अवसरमा कन्याकेटीको पूजा गरिन्छ । रजस्वला नभएका १० हजार कन्यालाई सडकको दायाँबायाँ बसालेर पूजा गरिने परम्परा सुरु भएको १२४ वर्ष पुगेको छ ।
विसं १९५९ देखि पूजा गर्न सुरु भएको सनातन कन्या पूजा प्रबन्ध समितिले बताएको छ । हिन्दू धर्मअनुसार कन्यालाई देवीको स्वरूप मानिन्छ । कन्या पूजा गर्दा देवी प्रसन्न हुन्छिन भन्ने जनश्रुती पाइन्छ । कन्याको पूजा गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि, आरोग्य र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।
कन्या पूजा समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार ठूलो सङ्ख्यामा कन्याको पूजा आयोजना गर्दा धार्मिक श्रद्धासँगै सामाजिक एकता, सद्भाव र बालिकाप्रतिको सम्मानको सन्देश प्रवाह हुन्छ ।
कन्याको सङ्ख्या बढ्दै गएपछि पूजा व्यवस्थापनलाई सहज बनाउन समितिले बजार व्यवस्थापन, बाजागाजालगायतका तयारी गर्दै आएको छ । समितिले पूजाको करिब एक महिनाअघिदेखि प्रचारप्रसार समेत गर्दै आएको जनाएको छ ।
पूजाका क्रममा बालिकालाई विधिपूर्वक पूजा गरी प्रसाद तथा दक्षिणा वितरण गरिन्छ । भक्तजनले आफ्नो इच्छाअनुसार कन्यालाई प्रसाद तथा उपहार प्रदान गर्ने परम्परासमेत रहेको छ । जातीय तथा अन्य कुनै पनि विभेद नगरी सबै कन्यालाई समान रूपमा पूजा गर्ने परम्परा नै कन्या पूजाको मौलिकता हो । रासस

























