देश/प्रदेश
हराउँदै गौरा पर्वको मौलिकता
०

महादेव अवस्थी
कञ्चनपुर, भदौ १९
समयको गतिसँगै पछिल्लो समय सुदूरपश्चिमको मुख्य पर्व मानिने गौराको मौलिकता हराउँदै जान थालेको छ । एक दशकअघिसम्म बिरुडा पञ्चमीका दिन गाउँघरका सबै महिला सामूहिक रुपमा भेला भएर एकै स्थानमा बिरुडा भिजाउने गर्थे । गौरा पर्व मनाउने छुट्टै घर (गौराघर) हुन्थ्यो एउटै आँगनमा गाउँभरिका महिला भेला भएर विधिवत रुपमा गौरा पर्व मनाउने चलन थियो । तर पछिल्लो समय सामूहिक रुपमा मनाउने गौरा छुट्टाछुट्टै मनाउन थालिएको छ ।
“पहिला हामी सामूहिक रुपमा एउटै ठाउँमा गौरा मनाउथ्यौँ, बिरुडा भिजाएको दिनदेखि गौरा समापन सम्मका सबै कार्यक्रम एकै स्थानमा हुन्थ्यो”, कञ्चनपुरको बेदकोट नगरपालिका–७ का स्थानीय गोमती भट्टले भन्नुभयो, “अहिले घरघरमा बिरुडा राखिन्छ पहिला एउटै घरमा गाउँभरि सबैका बिरुडा भिजाइन्थ्यो ।” गाउँभरिको मानिस एउटै स्थानमा भेला भएर उत्साहका साथ मनाउने गौरा अहिले सानोसानो समूहमा छुट्टाछुट्टै मनाउन थालिएको उहाँको भनाइ छ ।
गौरा मनाउने चलन मात्रै होइन, गौरामा गाईन फाग सगुनसमेत लोप हुन थालेको प्रति यहाँका पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन । गौरामा गाइने फागहरु लयमा गाउन जान्ने मानिससमेत सीमित हुँदा यसको महिमा विस्तारै हराउँदै जानेमा व्रतालु रतनादेवी भट्ट चिन्ता व्यक्त गर्नुहुन्छ । “हामी बाँचुञ्जेलसम्म त यसले निरन्तरता पाउला, हामी पछिका सन्ततिले यसको महत्व नै बुझेका छैनन्”, उहाँ भन्नुहुन्छ । अहिलेका पुस्तामा परम्परागत पर्वकाबारेमा जान्ने इच्छा नै नभएको उहाँ बताउनुहुन्छ ।
गौरा पर्वको आफ्नै गरिमा र महिमा छ । गौरा महिलाले ब्रत बस्ने, दुबधागो लगाउनेसँग सम्बन्धित छ । अहिलेको पुस्ताले भने गौराको महत्वप्रति ख्यालै नगरी केबल रमाइलोका लागि मात्रै गौरा मनाउने गरेको यहाँको संस्कृतिका जानकार शिवदत्त जोशीले बताउनुभयो । गौरा पर्व वैदिक र पौराणिक पर्व भएकाले यो पर्व मनाउने निश्चित विधि र पद्दति रहेको उहाँको भनाइ छ । “गौरा पर्व मनाउने निश्चित विधि र प्रक्रिया छ, त्यहीअनुसार मनाउनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले त गौरा पर्व भनेर देउडा खेल्छन् देउडा र गौरामा फरक हुन् ।” गौरा पर्वसँग जोडिएको ढुस्का, धुमारी, राम लीला र श्रीकृष्ण लीला गायनको पनि छुट्टै विशेषता रहेको उहाँले बताउनुभयो । अहिलेको पुस्ताले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गौरा पर्वको गरिमाको ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।
सुदूरपश्चिममा गौरा पर्वको बिरुडो, दसैँको जमरा र तिहारको चिउरालाई सुदूरपश्चिमवासीको आस्थाको धरोहरका रुपमा लिइन्छ । यी तीन पर्व विशेष महत्वका साथ मनाउने गरिन्छ । त्यसमा पनि गौरा पर्व सुदूरपश्चिममेलीको महान पर्व हो । यस क्षेत्रमा गौराको बिरुडा र दसैँको जमरा जसरी पनि प्रसादका रुपमा ग्रहण गर्नैपर्ने मान्यता रहेको छ ।
साउनको पुत्रदा एकादशीपछि सुदूरपश्चिमका गाउँबस्ती गुल्जार हुन थाल्छन् । परदेशी घर फर्किनेक्रम सुरु हुन्छ । गौरा पर्वका लागि पूजाका सामग्री जुटाउनेदेखि परिवारका सदस्यहरुका लागि नयाँ लुगा किन्ने परम्परा अझै छ । गौरादेवीको व्रत बस्ने महिलाले पुत्रदा एकादशीको व्रत अनिवार्य हो ।
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती ९गौरी० लाई गौरा देवीका रुपमा पूजा अर्चना गरिँदै आएको यहाँको लोकसंस्कृतिका जानकारहरु बताउँछन् । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो ।
गौरा पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने संस्कृतिका जानकार पण्डित कविराज भट्ट बताउनुहुन्छ । उहाँका अनुसार शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली’ गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी ‘गौरा’ भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गर्दछन् ।
गौरा विशेष गरेर यस क्षेत्रका नारीहरुले उपासना गर्ने पर्व हो । विवाहित नारीहरुले आफ्नो कुलपरम्पराअनुसार पुरुषहरुजस्तै यज्ञोपवितका रुपमा दुबधागो लाउने प्रचलन रहेको छ । पहिलोचोटी दुवधागो लगाउनका लागि उजेली गौरा परेको पर्व सर्वप्रथम पुत्रदा एकादशीको व्रत बसेपछि मात्र गौराको उपासना गर्न मिल्ने पं भट्टको भनाइ छ । उहाँका अनुसार पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि यो व्रतको सुरुआत हुन्छ ।
एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ । पाँचप्रकारका अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस मिसाएर तामाको भाँडोमा बिरुडा भिजाइन्छ । उक्त बिरुडा भिजाउने बेला महिलाले माङ्गलिक फाग गाउने गर्दछन् । “यसरी विधिपूर्वक भिजाएको बिरुडालाई षष्टिका दिन न्वाला वा धारामा गइ धुने गरिन्छ”, भट्टले भन्नुभयो, “त्यस दिन न्वाला वा धारामा पनि साँवाधानको गौराको मूर्ति बनाई बिरुडाले पूजा गरेपछि धोएका बिरुडालाई घरमा ल्याएर राखिन्छ ।”
सप्तमी तिथिका दिन गौरा आउने दिनका रुपमा विशेष प्रकारले पूजाअर्चना गर्ने गरिन्छ । यो दिनमा महिला दिनभर व्रत बस्दछन् । साँझपख साँवाधान, कुर्जो, अन्य फूलपाती आदिलाई रातो वस्त्र अथवा घुम्टीमा बेरेर गौराको मूर्ति बनाउने गरिन्छ । गौराको मूर्तिलाई निगाला वा तामाबाट बनेको डालोमा राख्ने गरिन्छ । एउटा काठको पिर्कोमा पहेलो कपडा बेरेर गौरासँगै महेश्वरलाई पनि राख्ने गरिन्छ ।
एउटा निश्चित घरमा गौरा ल्याइसकेपछि साँझ ब्राह्मण बोलाई विधिपूर्वक गौराको पूजा गर्ने गरिन्छ । यो दिन महिलाले कुण्ड नुहाउने प्रचलन पनि रहेको जानकी अवस्थी बताउनुहुन्छ । “यो पहिलो चोटी गौरा उपासना गर्ने नारीका लागि अनिवार्य हुन्छ”, उहाँले भन्नुभयो, “गाईको गोबरबाट दुई वटा कुण्ड निर्माण गरी त्यसमा गाईको गहुँत र दूध छुट्टाछुट्टै राखेर दुबोको सहायताले शास्त्रोत्त विधिअनुसार कुण्ड नुहाउने गरिन्छ ।”
त्यस दिन धागोमा विशेष किसिमका सात गाँठा पारेर बनाइएको सप्तमीलाई अभिषेक गरी महिलाले घाँटीमा लगाउने गर्दछन् । अष्ठमीका दिन गौराको मुख्य दिन हो । यस दिन व्रतालु महिलाले गोरा महेश्वर स्थापना गरिसकेपछि अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजा अर्चना गर्दछन् । “अठ्यावालीमा गौराको जन्मदेखि विवाह पछिसम्मका कथाहरु आउँछन् । यसमा गौरीको जीवनका विभिन्न घटनाको वर्णन गरिन्छ”, अवस्थीले भन्नुभयो, “अठ्यावाली सकिएपछि महिलाले धर्मकथा वाचन तथा श्रवण गर्छन् ।”
दिनभरि अठ्यावाली गाउँदै पूजा गरेका बिरुडा फूलप्रसाद र फलहरु एउटा च्यादरमा हाली दुई पुरुषको सहायताले पाँचपटक आकाशमा फाल्ने गरिन्छ । यसरी आकाशमा फाल्दा पहिलो पटक पूर्व दोस्रो पश्चिम, तेस्रो उत्तर, चौथो दक्षिण र अन्त्यमा सिधा आकासतिर फालिन्छ । आकाशतिर फालेका बिरुडा प्रसादलाई आकाशबाटै ग्रहण गर्ने र अन्य बिरुडामा मिसाएर टाउको पुज्ने प्रचलन रहिआएको छ ।
त्यसपछि दुबधागो लगाउँछन् दुबधागो भनेको महिलाको यज्ञोपवित हो । दुबधागोमा दुई पाला हुने गर्दछन् । यसमा रहेका रातो, पहेलो र कालो रङलाई क्रमशः महालक्ष्मी, महासरस्वती र महाकालीको प्रतीकका रुपमा मान्ने गरिन्छ । यस क्षेत्रका नारीहरु यस दिन सर्वप्रथम आफ्नो श्रीमान र त्यसपछि घरपरिवार तथा अन्य गाउँका नातासम्बन्धका व्यक्तिहरुको टाउको पुज्ने गरिन्छ । यस अवसरमा नारीहरुले आफूभन्दा नातामा ठूला रहेका पुरुषलाई समेत आशिर्वाद दिने गर्छन् ।
बिरुडालाई प्रसादका रुपमा ग्रहण गरी मिष्ठान्न भोजनका रुपमा स्थानीय परम्परागत परिकारका पकाएर खाने गरिन्छ । त्यसपछिका दुई–तीन दिन लगातार रुपमा स्थानीय देवीदेवताका मन्दिरहरुमा पुरुषहरुले ढोलक र मिजुराका साथ ढुस्को, धमारी, चैत तथा डेउडा खेल खेल्ने प्रचलन छ ।
विशेषगरी रामायण तथा महाभारतकालीन कथावस्तुमा आधारित ढुष्को धमारी चैत तथा स्थानीय देवीदेवता तथा इतिहास प्रसिद्ध गाथाहरु समूहमा खेलिने गरिन्छ । नृत्यगेयात्मक रुपमा खेलिने यो खेलमा मौलिक कलाको प्रस्तुति हुने गर्दछ । यस अवसरमा विभिन्न देवीदेवताका मन्दिरमा जात्रा लाग्ने चलन पनि रहेको छ ।
गौरा पर्वमा सुरुआतदेखि अन्त्यसम्म नारीको भूमिका हुने साहित्यकार जगदीश ओझा बताउनुहुन्छ । यसमा पुरुष सहयोगीका रुपमा मात्रै हुन्छन् । “गौरा पर्वमा धार्मिक र सांस्कृतिक काम सुरुदेखि अन्त्यसम्म महिलाले नै गर्दछन्”, ओझाले भन्नुभयो, “गौरा पर्व नारी सम्मानको पर्व हो यसमा महिलाले आफूभन्दा ठूलो मान्छेलाई पनि प्रसाद दिएर आशिर्वाद दिने परम्परा छ ।” घरपरिवारको जिम्मेवारीमा व्यस्त रहने महिलाका लागि गौरा सुखदुःख साट्ने आफन्त र साथीभाइसँग भेटघाट गर्ने अवसरका रुपमा पनि लिने गरिन्छ ।
गौराको पूजा अर्चनाले विशेषगरी श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु हुने, परिवारमा सुख समृद्धि हुने जनविश्वास रहेको पाइन्छ । विवाहित तथा दुबधागो लगाइसकेकी नारीहरुलाई प्रत्येक वर्ष गौराको उपासना अनिवार्य मानिन्छ । नारीहरुलाई विशेष सम्मानका साथ मनाइने यो पर्वको धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक महत्वलाई भविष्यमा पनि जोगाइराख्नुपर्ने देखिन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



















