देश/प्रदेश
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, रसुवाका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, भदौ १९ –
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले भदौ १९ गते बिहान ६ः३० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार पृथ्वी राजमार्ग, पासाङ ल्हामु सडक, सहिद मार्गलगायतका सडक पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका छन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरोका कारण साना सवारीका लागि एक लेन मात्र सञ्चालनमा छ । बेनिघाट रोराङ–१० जवाङखोला र थाक्रे गाउँपालिका–२ कमेरेभीरमा खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट धादिङतर्फ जाने सडकअन्तर्गत चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक लामो समयसम्म अवरुद्ध रहने जनाइएको छ। बाढीका कारण रसुवाका अन्य मुख्य सडकमा समेत अर्को सूचना जारी नभएसम्म यातायात रोक लगाइएको छ ।
नुवाकोटको पासाङ ल्हामु सडकखण्डअन्तर्गत वेत्रावती–सिमटार क्षेत्रमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ। टोखा–छहरे सडकखण्डको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा भने समय तोकेर सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ । साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मौसम तथा सडकको अवस्थाको विश्लेषण गरी अन्य सवारी सञ्चालनको व्यवस्था गरिएको छ ।
यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो खसेपछि मुगु–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । रोल्पाको सहिद मार्गअन्तर्गत परिवर्तन गाउँपालिका–३ भालखोर तथा घोराही–थवाङ सडकखण्डको परिवर्तन–६ दुईखोली बजारमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत पाणिनी गाउँपालिका–२ बालसिद्ध मन्दिर नजिकै पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने तथा आवश्यक व्यवस्थापनको काम जारी राखेको जनाएको छ । प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाका प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलमा सम्पर्क गरी सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ । न्यूज बैंक



























