देश/प्रदेश

रसुवा बाढीः आमाबाबु गुमाएका बालबालिकालाई बागमती सरकारले निःशुल्क पढाउने

Banner

हेटौंडा भदौ १८
बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निस्शुल्क शिक्षा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले जानकारी दिए । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका अभिभावकविहीन बन्न पुगेका बालबालिकाको संरक्षण र शिक्षामा निरन्तरता सुनिश्चित गर्ने निर्णय गरेको मन्त्री केसीले बताए ।

यस्तै, बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ । यसअघि प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम सम्बन्धित जिल्लाको जिल्ला दैवी प्रकोप व्यवस्थापन कोषमा पठाउनुपर्ने व्यवस्था थियो । उक्त व्यवस्थाका कारण विपद्का बेला रकम परिचालन तथा खर्च गर्न प्रक्रिया झन्झटिलो हुने र संघीय कानुनअनुसार थप प्रक्रिया पूरा गर्नुपर्ने भएकाले कार्यविधि संशोधन गर्ने निर्णय गरिएको मन्त्री केसीले बताए ।

संशोधित व्यवस्थाअनुसार अब आवश्यकताका आधारमा विपद् व्यवस्थापनका लागि जिल्ला र स्थानीय तहमा नै रकम पठाउन सकिने व्यवस्था गरिनेछ । सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुनस्स्थापनाका कामलाई प्रभावकारी बनाउन विपद् कोष परिचालनसम्बन्धी प्रक्रियालाई सहज बनाउने निर्णय गरेको जनाएको छ ।

यस्तै, मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, श्रम, रोजगार तथा यातायात मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>