देश/प्रदेश
विपद् प्राधिकरणलाई प्रधानमन्त्री अन्तर्गत राखौँः सांसद खरेल

काठमाडौँ, भदौ १८-
प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर प्रभावकारी रूपमा ‘कमान्ड’ गर्न सक्ने हैसियतको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।
सभाको आजको बैठकको विशेष समयमा बोल्दै रास्वपाका सांसद खरेलले प्रधिकरणको अहिलेको संरचनाबाट विपद् व्यवस्थापनको सम्पूर्ण चक्रअन्तर्गत जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका काम सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न सहज नभएको बताउँदै यस विषयमा गम्भीर बहस आवश्यकता औँल्याउनुभयो ।
सांसद खरेलले भोटेकोशी बाढी विपद्पछि सरकारको खोज, उद्धार र राहत प्रयास सराहनीय भए पनि पर्याप्त नहुनुमा प्राधिकरणको कमजोर संरचना भएको धारणा राख्नुभयो । उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७६ अनुसार बनेको प्राधिकरण तथा यसको वर्तमान संरचनाले अब प्रभावकारी रूपमा काम गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणलाई प्रधानमन्त्रीअन्तर्गत राख्नुपर्छ ।”
सांसद खरेलले नेपाल अहिले गहिरो शोकमा रहेको उल्लेख गर्दै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो । उहाँले बेपत्ता तथा घाइतेका परिवारसँग सरकार र सांसदहरू साथमै रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले असामान्य, अकल्पनीय र अप्रत्याशित परिस्थितिमा उद्धार कार्य सहज नभएको उल्लेख गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्नुभयो ।

























