देश/प्रदेश

तीन पुस्तादेखिको स्याउखेती, कर्म गुरुङले बनाए नमुना बगैँचा

Banner

सुन्दरकुमार थकाली ,

मुस्ताङ, भदौ १८-

व्यावसायिक स्याउखेती गरिरहनुभएका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना स्याउ किसानको परिचय बनाउनुभएको छ । आधा शताब्दीदेखि स्याउखेतीमा सक्रिय रहेका घरपझोङ–५ का गुरुङ पछिल्लो साढे दुई दशकदेखि व्यावसायिक स्याउखेतीमा सक्रिय हुनुहुन्छ ।

स्याउखेतीमा उहाँका परिवारको तीन पुस्ताको इतिहास छ । सानैदेखि बाबुबाजेसँगै स्याउखेतीमा संलग्न गुरुङ मुस्ताङमा किसानका रुपमा स्थापित हुनुहुन्छ । उहाँको लोभ लाग्दा स्याउ बगैँचाले कर्म गरे यही सुन फल्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । स्याउ किसान गुरुङको मेहनत, परिश्रम र दृढ इच्छा शक्तिले कुनै पनि व्यक्तिले चाहेका खण्डमा के सम्भव छैन भन्ने पाठ सिकाएको छ ।

यतिबेला गुरुङका बगैँचामा स्थानीय र हाइब्रिड जातका स्याउ बोटमा लटरम्म राताम्मे स्याउ फलेका छन् । गुरुङले आफ्नो बगैँचामा फलेका स्याउलाई पैसा फलेको सङ्ज्ञा दिनुहुन्छ ।

किसानले गुरुङले सदियौँदेखि परम्परागत स्याउखेतीलाई निरन्तरता दिँदै पछिल्ला दशकदेखि व्यावसायिक रुपमा छिटो उत्पादन दिने उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेतीतर्फ लागि पर्नुभएको छ । उहाँले मुस्ताङको ढुम्बा, सम्ले, सिन्तामणि रिसोर्टलगायत विभिन्न स्थानमा निजी, अन्य व्यक्ति तथा समुदायको जग्गा भाडामा लिएर व्यावसायिक स्याउखेती गरिरहनुभएको छ । अहिले करिब ७०० रोपनी क्षेत्रफलमा कर्मशील कृषक गुरुङले बगैँचा विस्तार गर्नुभएको छ ।

उहाँले आफ्नो र भाडामा लिएको जग्गामा पाँच हजार बढी स्थानीय जातका लोकल स्याउका बोट र ५७ हजार बढी हाइब्रिड जातका छिटो उत्पादन दिने स्याउका बिरुवा विस्तार गरिसक्नुभएको छ ।

स्याउखेतीमा योजनाबद्ध रुपमा समर्पित हुनसकेमा लक्ष्यप्राप्ति गर्न कुनै समस्या नहुने जनाउँदै किसान गुरुङले स्याउखेतीका लागि १० वटा जर्सी गाई, ६०० च्याङ्ग्रा र २५ वटा मौरीको घार व्यवस्थापन गर्नुभएको छ ।

स्याउखेतीलाई अर्गानिक उत्पादन दिलाउन उहाँले पर्याप्तमात्रामा पशुचौपाया र मौरीको घार विस्तार गर्नुभएको हो । गुरुङले मुस्ताङको विश्वमै चर्चामा रहेको सिन्तामणि रिसोर्ट नजिकै रहेको ७० रोपनी जग्गामा करिब १३ हजार बढी हाइब्रिड स्याउका बिरुवा रोप्नुभएको छ । किसानकर्मको चिम्ले अचार्ड कृषि स्याउ फार्म मुख्य ब्राण्ड बनिसकेको छ ।

गत वर्ष स्थानीय र हाइब्रिड स्याउ गरी आफूले ४०० मेट्रिकटन स्याउ उत्पादन गरी करिब रु १२ करोड बराबरको आर्थिक कारोबार गरेको उहाँ बताउनुहुन्छ ।

यस वर्ष किसान गुरुङले ७०० मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ । यस वर्ष स्याउको परागसेचन हुने समयमा मौसम अनुकूल भएकाले स्याउ उत्पादन निकै राम्रो देखिएको किसान गुरुङ बताउनुहुन्छ । यस वर्ष उत्पादन हुने स्याउबाट करिब रु १७ करोडदेखि २० करोडसम्मको आर्थिक कारोबार हुने किसान गुरुङको प्रारम्भिक प्रक्षेपण छ ।

मुस्ताङमा आफ्नो फार्ममा उत्पादन भएको स्याउको सबै मापदण्ड पूरा गरी बजार पु¥याउने गरेको उहाँको दाबी छ । यस वर्ष उत्पादन भएको स्याउ काठमाडौँ पु¥याएर बिक्री गर्ने तयारी भइरहेको बताउनुभयो ।

विगतका वर्षमा सडक सहज नहुँदा बजारीकरणका लागि निकै समस्या र चुनौती हुने गरेकामा पछिल्लो समय यातायातको सहज पहुँचपछि स्याउ ढुवानी गर्न समस्या नभएको उहाँ बताउनुहुन्छ ।

उहाँको चिम्ले अचार्ड कृषि फार्ममा २५ जनाभन्दा बढीले बाह्रै महिना रोजगारी पाएका छन् भने १०० भन्दाबढी श्रमिकले अल्पकालीन रोजगारी प्राप्त गरिरहेका छन् । वार्षिक रुपमा प्राप्त आम्दानी उहाँले स्याउखेती विस्तारमै लगानी गर्दै आउनुभएको छ । इटालीबाट आयात गरिएको विदेशी उच्च घनत्वको हाइब्रिड स्याउखेतीका लागि पर्याप्त पूर्वाधार तथा बिरुवालाई आवश्यकपर्ने टेकोसमेत विदेशबाट व्यवस्थापन गर्नुभएको छ । युटुब भिडियो हेर्दै स्याउखेतीबारे जानकारी हासिल गर्दै आउनुभएका गुरुङले त्यसबाट खेती गर्ने तरिकाबारे गहकिलो ज्ञान प्राप्त हुने गरेको प्रतिक्रिया दिनुहुन्छ ।

पछिल्ला वर्षमा जलवायु परिवर्तनको असरले स्याउखेतीतर्फ निकै असर पु¥याउन थालेको उहाँको भनाइ छ । कृषक गुरुङका अनुसार, यसबीचमा पनि स्याउखेतीका लागि अनुकूलका उपाय र उपयुक्त व्यवस्थापन गर्नसकेमा जलवायु परिवर्तनका असरबाट हुने क्षति रोक्न सकिनेछ ।

उहाँको घरपझोङ गाउँपालिकाभित्र करिब आधा दर्जन बढी स्याउ बगैंचा रहेका छन् । कर्मको स्याउ विस्तार अभियानमा परिवारका सबै सदस्यको साथ सहयोग रहेकाले उहाँको उत्साह अझ बढेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>