नवलपरासी

बाढीपीडितका लागि राहत सङ्कलन गर्दै गैंडाकोट युवा भजन समूह

Banner

गैंडाकोट, भदौ १४-

बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले गैंडाकोट युवा भजन समूहले राहत सामग्री सङ्कलन अभियान सञ्चालन गरेको छ।

समूहले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै गैंडाकोटका कालिकाचोक, कालीगण्डकी चोक, कांग्रेसचोकलगायतका स्थानमा पुगेर बाढीपीडितका लागि आवश्यक राहत सामग्री सङ्कलन गरिरहेको जनाएको छ।

बाढी तथा विपद्का कारण नागरिक समस्यामा परेका बेला उनीहरूको पीडामा साथ दिन र आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको गैंडाकोट युवा भजन समूहका संयोजक रविन्द्र चापागाईंले बताए।

उनका अनुसार बिहानैदेखि सुरु गरिएको राहत सामग्री सङ्कलन अभियान निरन्तर सञ्चालन गरिनेछ। विपद्को समयमा प्रभावित परिवारलाई सहयोग पुर्‍याउन इच्छुक व्यक्ति, स्थानीय समुदाय तथा विभिन्न संघ–संस्थालाई अभियानमा जोडिन समूहले आग्रह गरेको छ।

“दुःख परेको बेलामा सहारा बन्नु नै मानवताको अर्थ हो। देश रोइरहेको बेला हामी हाँसेर बस्न सक्दैनौँ,” संयोजक चापागाईंले भने, “आपत्–विपत्मा परेका नागरिकको पीडामा साथ दिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक छ।”

राहत सङ्कलन अभियानमार्फत सङ्कलित सामग्री बाढी प्रभावित परिवारसम्म पु¥याउने समूहले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>