तनहुँ
तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली (तनहुँ), भदौ ११ –
तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष १८ प्रतिशतले उत्पादन बढेको हो ।
आर्थिक वर्ष २०८२/८३ मा ७४० रोपनी क्षेत्रफलमा खायन जातको आलुखेती गरिएको थियो । सो वर्ष ९८५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।
कृषि विकास कार्यालय तनहुँका कार्यालय प्रमुख परशुराम अधिकारीले समुदायस्तरमा खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएपछि उत्पादन बढेको जानकारी दिनुभयो ।
कार्यालयले किसानलाई आवश्यक बीउ, कृषि सामग्री तथा कृषि उपकरण अनुदानमा उपलब्ध गराउँदै आएको छ । कार्यालयले ५९ हजार किलो आलुको बीउ वितरण गरेको थियो ।
समुदायस्तरमा खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमबाट ६०४ जना किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । जसमध्ये महिलाको सङ्ख्या २९९ र पुरुषको सङ्ख्या ३०५ जना रहेको छ ।
किसानलाई उत्पादन सामग्री र कृषियन्त्र उपकरणमा सहयोग पु¥याउँदै आलुखेतीलाई व्यावसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अधिकारीले बताउनुभयो ।
आलु उत्पादन प्रवर्द्धनका लागि रु ४८ लाख १० हजार बजेट विनियोजन गरिएकामा रु ४६ लाख ४१ हजार खर्च भएको छ । कार्यक्रमअन्तर्गत १५ वटा कृषक समूह तथा कृषि सहकारीलाई कृषि उत्पादन सामग्री तथा कृषि यन्त्र उपकरण खरिदमा अनुदान सहयोग उपलब्ध गराइएको थियो ।
सामूहिक खेती तथा सहकारीमार्फत उत्पादनलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले समूह तथा सहकारी प्राथमिकतामा राखिएको छ ।
तनहुँमा आलु उत्पादनको पछिल्लो अवस्थाले किसान परम्परागत खेती प्रणालीबाट क्रमशः आधुनिक प्रविधितर्फ आकर्षित हुँदै गएको अधिकारीको भनाइ छ ।
उत्पादन सामग्रीसँगै कृषियन्त्र उपकरणमा सहयोग पाएपछि किसानलाई खेती गर्न सहज हुनुका साथै उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने अवसर सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो । रासस

























