नवलपुर

नेपालमा पहिलोपटक ‘विकू भर्चुअल कार्ड’ शुभारम्भ

Banner

गैडाकोट,भदौ ५-

नवलपरासी (बर्दघाट(सुस्तापूर्व)को गैँडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुलुकमा पहिलोपटक ‘विकू भर्चुअल कार्ड’ सुरुआत गरेको छ । आफ्ना सदस्यहरूलाई कार्डविहीन कारोबार सेवा प्रदान गर्ने उद्देश्यले आजदेखि विकूले पहिलोपटक यो सुविधा कार्यान्वयनमा ल्याएको हो ।

विकूका सूचना तथा प्रविधि विभाग प्रमुख सङ्केत कँडेलका अनुसार मोबाइल बैंकिङ एपबाट चलाउन, कार्ड माग गर्न, नवीकरण गर्न, ‘कार्ड ब्लक’ र ‘अनब्लक’ गर्न तथा ‘इकमर्स’ व्यवसायमा सहज भुक्तानी गर्न मिल्नेछ । “कार्ड हराएमा, चोरी भएमा, वा शङ्कास्पद कारोबार भएको थाहा पाएमा सुरक्षाका लागि बैंकको मोबाइल एप वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी कार्डबाट थप कारोबार हुन नदिन रोक्ने प्रक्रिया कार्डब्लक हो भने हराएको कार्ड भेटिएमा वा गल्तीले ब्लक भएको कार्डलाई पुनः प्रयोगयोग्य बनाउन मोबाइल एप वा बैंक शाखामा निवेदन दिएर खुलाउने प्रक्रिया अनब्लक हो”, उहाँले भन्नुभयो ।

अन्य बैंकका एससिटी नेटवर्कभित्रका एटिएम कार्डसमेत यस कार्डमा जोड्न मिल्ने विभाग प्रमुख कँडेलले बताउनुभयो । शीघ्र विकूको एपबाट भारतमा क्यूआर भुक्तानी गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो ।

विकूले ३६औँ वार्षिकोत्सवका अवसरमा सुरु गरेको ‘विकू भर्चुअल कार्ड’ एटिएम कार्डको विकल्पमा ल्याइएको संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । विकूले पहिलोपटक सहकारीहरूमध्ये अन्य बैंकमा रु एक लाखसम्म रकमान्तर गर्न मिल्ने सुविधा ल्याएको उहाँको भनाइ छ । आगामी दिनमा संस्थालाई समयसापेक्ष परिवर्तन गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।

विकूको संस्थापक अध्यक्ष खेमराज सापकोटाले ३६ वर्ष अगाडि २६ जना सदस्यबाट सुरुआत भएको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सङ्ख्या एक लाख ३५ हजार नाघेका जानकारी दिनुभयो । उहाँका अनुसार गैँडाकोटका २६ जना युवाले दैनिक रु ५० सङ्कलन गरेर सुरु गरेको सहकारी संस्थामा अहिले रु आठ अर्ब ८० करोड निक्षेप तथा रु ८१ करोड सेयर पुँजी पुगेको छ ।

नवलपरासी र चितवनमा २४ वटा शाखामार्फत कारोबार गर्दै आएको विकू सदस्य र कारोबारको हिसाबले मुलुकको दोस्रो ठूलो बचत तथा ऋण सहकारी संस्था भएको उहाँले बताउनुभयो । समाजमा व्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गर्न तथा बचत गर्ने बानीको विकास गराउन सदस्यबाट सङ्कललित बचतलाई सदस्यभित्रै परिचालन गरी विभिन्न किसिमका सामाजिक उद्यम प्रवर्द्धन गर्नु विकूको मुख्य उद्देश्य रहेको संस्थाका संस्थापक ओमप्रसाद सापकोटाले बताउनुभयो ।

संस्थाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीराज उप्रेतीले नीति, विधि र प्रविधिमा सञ्चालन भएका सहकारी कहिल्यै पनि घाटामा नजाने बताउनुभयो । विकू नवलपुर क्षेत्रको मात्र नभएर नेपालकै उत्कृष्ट सहकारी भएकाले यो सहकारी अध्ययनको थलो बन्दै गएको उहाँको भनाइ छ । सहकारीको वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारी र सेवाग्राहीलाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>