प्रवास

ह्यारी–मेघन बेलायत फर्कने

Banner

लन्डन, भदौ ४ –

राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको छ वर्षपछि बेलायती राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन मार्कल आफ्ना दुई सन्तानसहित बेलायत फर्किने तयारीमा हुनुहुन्छ । बेलायती सञ्चारमाध्यमका अनुसार दम्पतीले केही साताभित्र क्यालिफोर्निया छाडेर लन्डनबाहिरको निजी तथा गैरशाही निवासमा बसोबास गर्ने योजना बनाउनुभएको छ ।

द टेलिग्राफका अनुसार उहाँहरूले नयाँ घरसमेत छनोट गरिसक्नुभएको छ । बिबिसीसहितका सञ्चारमाध्यमले ह्यारी–मेघनका सात वर्षीय राजकुमार आर्ची र पाँच वर्षीया राजकुमारी लिलिबेटलाई सेप्टेम्बरमा सुरु हुने शैक्षिक सत्रका लागि बेलायती विद्यालयमा भर्ना गरिसकिएको जनाएका छन् ।

ह्यारी र मेघनले सन् २०२० मा राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेर अमेरिका बस्न थाल्नुभएको थियो । पारिवारिक विवादका बीच बेलायत छाडेका उहाँहरूको शाही परिवारसँगको दूरी ह्यारीको संस्मरण ‘स्पेयर’ तथा अमेरिकी टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तापछि थप बढेको थियो ।

प्रेस एसोसिएसनका अनुसार राजा चार्ल्स तृतीयलाई दम्पतीले बेलायत फर्किएर बस्ने योजना बनाएको जानकारी दिइसकिएको छ । राजाले परिवारका सदस्यसँग भेटघाट गर्ने अवसरलाई स्वागत गर्नुहुने भए पनि ह्यारी र मेघनको शाही हैसियतमा कुनै परिवर्तन हुने छैन र उहाँहरूले राजपरिवारको आधिकारिक जिम्मेवारी सम्हाल्नुहुने छैन ।

बेलायतमा परिवारसहित फर्कन आफू सुरक्षित महसुस नगरेको ह्यारीले यसअघि बताउनुभएको थियो । सरकारी खर्चमा उपलब्ध हुने प्रहरी सुरक्षासम्बन्धी कानूनी विवादमा पराजित भएपछि उहाँले परिवारलाई सुरक्षित रूपमा बेलायत ल्याउन कठिन रहेको बताउनुभएको थियो । गृह मन्त्रालयले भने सुरक्षा व्यवस्था आवश्यकताअनुसार कडा र उपयुक्त रहेको जनाएको छ ।

ह्यारी–मेघनको पछिल्लो बेलायत भ्रमण जुलाईको सुरुआतमा भएको थियो । त्यस क्रममा उहाँहरूले राजा चार्ल्ससँग निजी भेट गर्नुभएको थियो । राजा चार्ल्सलाई दुई वर्षअघि क्यान्सर भएको पत्ता लागेपछि उपचार गराउँदै आउनुभएको छ ।

ह्यारीका दाजु तथा सिंहासनका उत्तराधिकारी राजकुमार विलियम र उहाँकी पत्नी क्याथरिनलाई दम्पतीको फर्किने योजनाबारे जानकारी दिइएको थियो वा थिएन भन्ने स्पष्ट छैन । ह्यारी र विलियमबीच लामो समयदेखि दूरी रहेको बताइन्छ ।

राजपरिवारसम्बन्धी टिप्पणीकार रिचर्ड फिट्जविलियम्सले ह्यारी–मेघनको सम्भावित पुनरागमनलाई ‘असाधारण विकास’ भन्नुभएको छ । उहाँले दम्पतीले अमेरिकामा अपेक्षित सफलता हासिल गर्न नसकेको टिप्पणी गर्नुभएको छ । सन् २०२० मा नेटफ्लिक्ससँग करिब १० करोड अमेरिकी डलरको सम्झौता गरे पनि उहाँहरूका केही परियोजनाले अपेक्षाअनुसार दर्शक आकर्षित गर्न नसकेको बताइएको छ ।

द सनका अनुसार दम्पतीले क्यालिफोर्नियाको मोन्टेसिटोस्थित घर र पोर्चुगलको घर पनि कायम राख्नेछन् ।

यसैबीच, ह्यारीकी आमा राजकुमारी डायनाका भाइ चार्ल्स स्पेन्सरले डायनाको जीवनबारे ‘स्वान सङः डायना, माई सिस्टर’ नामक पुस्तक प्रकाशन गर्ने घोषणा गर्नुभएको छ । पुस्तक सेप्टेम्बर २२ मा १२ भाषामा प्रकाशित हुनेछ । जुलाईको सुरुआतमा ह्यारी, मेघन र उहाँहरूका सन्तानले मध्य इङ्ल्यान्डस्थित अल्थर्पमा रहेको स्पेन्सर परिवारको पैतृक घर भ्रमण गरी डायनाको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पण गरेको बताइएको छ । एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>