चितवन विशेष
सञ्चारकर्मी तथा साहित्यकार गौरी तमू सम्मानित

चितवन, भदौ २ –
तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले सञ्चारकर्मी तथा साहित्यकार गौरी तमूलाई सम्मान गरेको छ। चितवनका सञ्चारमाध्यममा पहिलोपटक तमू भाषामा समाचार प्रसारण गरेकी गौरीलाई चौथो गुरुङ भाषा प्रसारण दिवसका अवसरमा सम्मान गरिएको हो।
इच्छाकामना गाउँपालिका–२ स्थित घुर्कोश सामुदायिक होमस्टेमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एटजोन तथा फोनिजका पूर्वअध्यक्ष डण्ड गुरुङले गौरीलाई सम्मानपत्र प्रदान गरे। एटजोनले तमू मातृभाषामा समाचार तथा कार्यक्रम प्रकाशन र प्रसारण गर्ने अग्रज सञ्चारकर्मीलाई विगत चार वर्षदेखि सम्मान गर्दै आएको छ। २०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक गुरुङ, तामाङ, मगरलगायत मातृभाषामा समाचार प्रसारण भएको थियो।
सोही दिनको स्मरणमा एटजोनले हरेक वर्ष भदौ १ गते गुरुङ भाषा प्रसारण दिवस मनाउँदै आएको हो। प्रसारण दिवसका अवसरमा यसअघि गोविन्द्र गुरुङ, गणेशमान गुरुङ र अनिता गुरुङ सम्मानित भइसकेका छन्। कार्यक्रम एटजोनका अध्यक्ष लाला गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव चित्र सोल्टी गुरुङले गरेका थिए।

























