चितवन विशेष

तमू सञ्चारकर्मी संघ चितवनमा हीरालालको नेतृत्व

Banner

चितवन, भदौ २-

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल चितवन शाखाको अध्यक्षमा हीरालाल गुरुङ चयन भएका छन्। सोमबार इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश सामुदायिक होमस्टेमा सम्पन्न संघको दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नवनिर्वाचित समितिको उपाध्यक्षमा गीता गुरुङ, सचिवमा करिश्मा गुरुङ, सहसचिवमा घना गुरुङ र कोषाध्यक्षमा सूचना गुरुङ चयन भएका छन्। सदस्यमा सुष्मा गुरुङ र शान्ति गुरुङ चयन भएका छन्।

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष लाला गुरुङ, पूर्वअध्यक्ष डण्ड गुरुङलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लाला गुरुङले गुरुङ समुदायको भाषा, संस्कार, संस्कृति, पहिचान तथा समसामयिक विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए।

तमू समुदायको मौलिक संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले इच्छाकामनाको दुर्गम गुरुङ बस्ती घुर्केशमा अधिवेशन आयोजना गरिएको भन्दै उनले आयोजकप्रति आभार व्यक्त गरे। समुदायका आवाजलाई सञ्चारमाध्यममा प्राथमिकताका साथ उठाउँदै समाज परिवर्तनमा सञ्चारकर्मीले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै तमू समुदायका मुद्दालाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उठान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नवनिर्वाचित कार्यसमितिले तमू समुदायको भाषा, कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै पत्रकारहरूको पेशागत हकहितका लागि काम गर्ने अपेक्षा गरिएको छ।

घना गुरुङलाई ‘लालप्रसाद तमू सञ्चारकर्मी पुरस्कार’

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल चितवन शाखाले सञ्चारकर्मी घना गुरुङलाई ‘लालप्रसाद तमू सञ्चारकर्मी पुरस्कार’ प्रदान गरेको छ।

संघको दोस्रो अधिवेशनको अवसरमा गुरुङलाई नगद १५ हजार ५५५ रुपैयाँसहित पुरस्कृत गरिएको हो। संघका केन्द्रीय अध्यक्ष लाला गुरुङ, पूर्वअध्यक्ष डण्ड गुरुङलगायतको उपस्थितिमा पुरस्कार प्रदान गरिएको थियो।

चितवनका विभिन्न सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत गुरुङलाई प्रदान गरिएको उक्त पुरस्कार सञ्चार उद्यमी तथा वाग्मती प्रदेशकी पूर्वसांसद रीना गुरुङले आफ्ना पिता लालप्रसाद गुरुङको नाममा अक्षयकोष स्थापना गरी सुरु गरेकी हुन्। प्रत्येक अधिवेशनमा प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिएको संघले जनाएको छ।

गौरी तमू सम्मानित

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले सञ्चारकर्मी तथा साहित्यकार गौरी तमूलाई सम्मान गरेको छ। चितवनका सञ्चारमाध्यममा पहिलोपटक तमू भाषामा समाचार प्रसारण गरेकी गौरीलाई चौथो गुरुङ भाषा प्रसारण दिवसका अवसरमा सम्मान गरिएको हो।

इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश सामुदायिक होमस्टेमा आयोजित कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्वअध्यक्ष डण्ड गुरुङले उनलाई सम्मानपत्र प्रदान गरे।

गौरीले २०५९ फागुन १ गते चितवनस्थित कालिका एफएमबाट तमू भाषामा कार्यक्रम सञ्चालन सुरु गरेकी थिइन्। उनी तमू साहित्यिक मञ्चकी संस्थापक अध्यक्षसमेत हुन्।

तमू सञ्चारकर्मी संघ नेपालले तमू मातृभाषामा समाचार तथा कार्यक्रम प्रकाशन तथा प्रसारण गर्ने अग्रज सञ्चारकर्मीलाई विगत चार वर्षदेखि सम्मान गर्दै आएको छ।

संघका अध्यक्ष लाला गुरुङका अनुसार २०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक गुरुङ, तामाङ, मगरलगायत मातृभाषामा समाचार प्रसारण भएको थियो। सोही दिनको स्मरणमा संघले हरेक वर्ष भदौ १ गते गुरुङ भाषा प्रसारण दिवस मनाउँदै आएको हो।

दिवसका अवसरमा यसअघि गोविन्द गुरुङ, गणेशमान गुरुङ र अनिता गुरुङ सम्मानित भइसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>