चितवन विशेष
चितवनमा कृष्णसार ल्याउन १२४ वटा रुख बाधक

चितवन, भदौ १–
चितवनको रत्ननगर नगरपालिका स्थित टिकौली चौरमा लोपोन्मुख कृष्णसार ल्याउने तयारी गरेको ६ वर्ष पुग्यो । वि.सं २०७७ सालमा अध्ययन सुरुगरेर पूर्वाधार निर्माणको काम सकिएपनि अझै कृष्णसार ल्याउन सकिएको छैन । डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्य वन मन्त्रालयले रुख हटाउनका लागि अनुमति नदिँदा कृष्णसार ल्याउन नसकिएको हो ।
‘सबै पूर्वाधार निर्माण भएका छन् । रुख हुँदा चितुवा आएर कृष्णसार खाइदिने सम्भावना रह्यो, उनले भने रुख नहटाउँदासम्म कृष्णसार ल्याउनका लागि अनुमति दिन सकिएन ।’ चितवनमा बर्दिया र शुक्लाफाँटा निकुञ्जबाट १२ पोथी र ६ भाले गरेर १८ वटा कृष्णसार ल्याइने तयारी गरिएको थियो । कृषि, पशुपन्छि, वन तथा वातावरण मन्त्री गीता चौधरीले समेत आफ्नो पहिलो निर्णयमा कृष्णसार स्थानान्तरण गर्ने विषय उल्लेख गरेकी थिइन ।
आचार्यका अनुसार १२९ वटा रुख काट्नुपर्ने हुन्छ । सालका रुख काट्न मन्त्रीस्तरिय निर्णय चाहिन्छ । यसका लागि वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्राचार गरिएको उनले बताए । कृष्णसार रत्ननगर नगरपालिकाको वडा नम्बर ९ स्थित वरण्डाभार वन संरक्षण क्षेत्रको टिकौली चौरको १९ दशमलव ८३ हेक्टर वन क्षेत्रमा स्थानान्तरण गर्नेगरी आवश्यक पूर्वाधारको तयारी पुरा भएको छ । यहाँ तारबार, घाँसेमैदान र दुई वटा पोखरी निर्माण भइसकेका छन् । रुख कटानको अनुमतिका लागि राष्ट्रिय निकुञ्ज विभाग, वन विभाग, वन तथा वातावरण मन्त्रालय र बागमती प्रदेश मन्त्रालयमा चैत महिनामा प्रतिवेदन पठाइएको हो ।
‘जानीजानी चितुवालाई खुवाउन कृष्णसार ल्याउने कुरा भएन,’ उनले भने ‘त्यसलाई रोक्न रुख काट्नुपर्ने हुन्छ ।’ बाघ धेरै जम्म गर्न नसक्ने भएकाले रुख मार्फत चितुवा भित्र छिर्न सक्ने अनुमान उनको छ । उनले मन्त्रालयबाट फाइल स्वीकृत भएर आउनासाथ रुख कटानको काम थालिने बताए ।
कृष्णसारको दीर्घकालीन संरक्षणका लागि भनेर २०६७ देखि २०७१ सालसम्ममा नेपालगञ्ज नगरपालिकाको चिडियाखाना, सदर चियाखाना र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट दुई चरणमा ४२ वटा कृष्णसार कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा स्थानान्तरण गरिएको थियो । ती बढेर अहिले २५६ वटा भएका छन् । बर्दियामा अहिले १९६ वटा कृष्णसार छन् । त्यहाँबाट चितवन ल्याइदै छ । संकटापन्न वन्यजन्तुको सूचीमा रहेको कृष्णसार प्राकृतिकरूपमा नेपाल र उत्तरी भारतमामात्र पाइन्छ । यो मान्छेसँग घुलमिल हुने बाख्रा प्रजातीको वन्यजन्तु हो । यो मृग जस्तो मान्छे देखेपछि बुर्कुसी मार्ने प्रजाति भने होइन ।
यसलाई मध्येनजर गर्दै कृष्णसारको संरक्षण गर्नुपर्ने बताउँछन् चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगर । ‘हामीले कृष्णसारको सुरक्षा हुनेगरी बुँदाहरु टिपेर सम्बन्धीत निकायमा पठाएका छौँ,’ उनले भने ‘चितुवा नियन्त्रणका लागि रुख काट्न सुझाव दिएका छौँ । चितवनमा कृष्णसार ल्याउन रत्ननगरका तत्कालिन मेयर नारायण वनले सरोकारवाला निकाय तथा व्यक्तिहरूसँग छलफल थालेका थिए । पर्यटन क्षेत्रमा विकास हुने उद्देश्यले रत्ननगर नगरपालिकाले वन मन्त्रालयलसम्म कुरा राखेपछि अनुमति पनि प्राप्त गर्यो । कृष्णसार राख्नका लागि पूर्वाधार निर्माणमा रत्ननगर नगरपालिकाले करिब पाँच करोड रुपैयाँ बराबरको रकम खर्च गरेको छ ।
चितवनमा ल्याइएको वन्यजन्तु अहिलेसम्म सफल भएका छैनन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट २०७३ सालमा चितवन ल्याइएका अर्ना हरू पाँच वर्ष पनि टिक्न सकेनन् । चितवन राष्ट्रिय निकुञ्जको ३० हेक्टर क्षेत्रफलमा तारबार गरेर राखिएका अर्ना बढेर २३ वटासम्म पुगेका थिए । तर कहिले बाघ पसेर मारिदिए । कहिले बाढी र रोगव्याधिले अर्नाहरू मासिए । २०७४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सातवटा बाह्रसिंगा स्थानान्तरण गरेर चितवन ल्याइएको थियो। ती सबैको विभिन्न कारणले मरे । अहिलेपनि सफल नहुने हो कि भन्ने चिन्ता संरक्षणकर्मीमा रहेको छ ।

























