चितवन विशेष

नेपाल सि.एम.ए. संघ चितवनको अध्यक्षमा पाण्डे चयन

Banner

चितवन, साउन २५–

नेपाल सि.एम.ए. संघ जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा दिनेश पाण्डे चयन भएका छन् । भरतपुरमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा गोविन्दप्रसाद नेपाल र सचिवमा नवराज कँडेल चयन हुनुभएको छ। साथै अधिवेशनबाट चार जना केन्द्रीय प्रतिनिधिसमेत चयन भएका छन्।

नवनिर्वाचित जिल्ला अध्यक्ष पाण्डेले चितवनका सम्पूर्ण पारामेडिक्स स्वास्थ्यकर्मीलाई एकताबद्ध गर्दै पेशागत हक, हित र अधिकारको रक्षाका लागि संगठनलाई थप मजबुत र प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जिल्ला अध्यक्ष रामजी घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक कपिल खनाल प्रमुख अतिथि रहनु भएको थियो । केन्द्रीय उपाध्यक्षद्वय गोपाल उपाध्याय र काशीराम अर्याल विशिष्ट अतिथि, नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य तथा नेपाल सि.एम.ए. संघका सल्लाहकार संयोजक बद्री खनाल र औषधि व्यवसायी संघ चितवनका अध्यक्ष इन्द्रराज गैरे सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा सहभागीहरुले पारामेडिक्स स्वास्थ्यकर्मीका साझा पेशागत मुद्दा र चुनौतीको समाधानका लागि आपसी एकता, सहकार्य र संगठनात्मक सक्रियता आवश्यक रहेको धारणा राख्नुभएको थियो।

कार्यक्रममा नेपाल सि.एम.ए. संघका केन्द्रीय उप–महासचिव ईश्वर चापागाईं (नवीन) ले संघका सांगठनिक गतिविधि, पारामेडिक्स स्वास्थ्यकर्मीको पेशागत हक, हित तथा अधिकार संरक्षणका लागि संघले गरेका पहल, राज्यसँग भएका सहमति तथा कार्यान्वयनको अवस्था, पेशागत चुनौती र भावी कार्ययोजनाबारे जानकारी गराउनुभयो। उहाँले पारामेडिक्स स्वास्थ्यकर्मीको पेशागत सुरक्षा र अधिकार संरक्षणका लागि संगठनलाई थप संगठित, एकताबद्ध, मजबुत र संघर्षशील बनाउनु अपरिहार्य रहेको बताउँदै चितवनका सम्पूर्ण सि.एम.ए.रअ.हे.व. स्वास्थ्यकर्मीलाई साझा पेशागत मुद्दामा एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो।

सोही अवसरमा पारामेडिक्स स्वास्थ्यकर्मीका विभिन्न पेशागत माग सम्बोधन गराउन आफ्नो जिउ–ज्यानको समेत प्रवाह नगरी लगातार पाँच दिन सत्याग्रह (आमरण अनशन) बसेर तत्कालीन राज्यसत्तालाई माग सम्बोधन गर्न बाध्य पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायलाई सम्मान गरिएको थियो।

अधिवेशनमा सहभागी चितवनका पारामेडिक्स स्वास्थ्यकर्मीहरूले पेशागत हक, हित र अधिकारको संरक्षणका लागि संगठनलाई थप सुदृढ बनाउँदै साझा मुद्दामा एकताबद्ध, संगठित र संघर्षशील भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>