घटना -दुर्घटना
गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

गोरखा, साउन १८-
गोरखा नगरपालिका-९, लक्ष्मीबजारस्थित दिवामार्गमा अविरल वर्षाका कारण गएको पहिरोले एउटा तीन तले पक्की घर पूर्ण रूपमा क्षति भएको छ। घटनामा घरभित्र रहेका एकजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् डिएसपी राजकुमार श्रेष्ठका अनुसार सोमबार बिहान करिब ११ बजे स्थानीय मान सिंह गुरुङको तीन तले पक्की घर जगबाटै पहिरो गएर अन्दाजी १५/२० मिटर तल खसेको हो। यसबाट घर पूर्ण रूपमा ध्वस्त भएको छ।
उक्त घरमा डेरा गरी बस्ने रौतहटको कटहरिया नगरपालिका-७ घर भएका ५८ वर्षीय टोखान महतो घटनाको समयमा घरभित्रै रहेका थिए। सोमबार बिहान ११:१० बजे उनको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ। घाइते महतोको पेट र खुट्टामा सामान्य चोट (लछारेको/ददारेको) लागेको छ भने उनको अवस्था बोल्न सक्ने र मध्यम रहेको छ।
यसैगरी, सोही पहिरोका कारण नजिकै रहेका कृष्ण देव महतोको चार तले पक्की घरमा समेत आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।


























