अन्तर्राष्ट्रिय

देशको समृद्धिमा एनआरएन विज्ञको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

Banner

लण्डन ,साउन १६-

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको समृद्धिमा विदेशमा बस्ने नेपालीहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन्।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँग कुरा गर्दै राष्ट्रपतिले विदेशमा रहेका नेपाली विज्ञहरूलाई नेपालको विकासमा प्रभावकारी रूपमा परिचालन गर्न सके देश छिट्टै समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।

भेटका क्रममा डा.रेग्मीले गैरआवासीय नेपाली संघको आयोजनामा आगामी वर्ष काठमाडौँमा हुन लागेको ‘विश्व विज्ञ सम्मेलन’को तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। उनले गैरआवासीय नेपालीहरू नेपाल सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको पनि बताए।

त्यसैगरी, डा. रेग्मीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन तथा वंशजको नागरिकताको निरन्तरताका विषयमा सरकारसँग छलफल भइरहेको जानकारी गराए।

राष्ट्रपति पौडेलले आफ्नो संवैधानिक दायराभित्र रहेर प्रवासमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

भेटमा संघका उपमहासचिव कृष्ण पोखरेलले गैरआवासीय नेपालीसम्बन्धी संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन अझै व्यवहारमा आउन नसकेकोप्रति राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै गैरआवासीय नेपालीहरूले विभिन्न प्रशासनिक तथा कानुनी जटिलता भोग्नु परेको उल्लेख गरे।

यसअघि उक्त प्रतिनिधिमण्डलले कानून, परराष्ट्र, सञ्चार तथा अर्थमन्त्रीहरूसँग पनि संघले आयोजना गर्न लागेको विश्व विज्ञ सम्मेलनबारे छलफल गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>