चितवन विशेष
चितवनका ७० हजार भन्दा धेरै पशु चौपायमा कृत्रिम गर्भाधान

चितवन, साउन १५-
जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ । यहाँ पालिएका गाई, भैँसी र बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो । पशुसेवा कार्यालय चितवनका अनुसार ६३ हजार ६२७ गाई, छ हजार ५४४ भैँसी र ३५ वटा बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो ।
कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिकामा पालिएका २९ हजार ९२ गाई, तीन हजार १७० भैँसी र २६ बाख्रामा कृत्रिम गर्भाधान गराइएको छ । यस्तै, कालिका नगरपािलकामा एक हजार ६२० गाई र २४२ भैँसी, रत्ननगर नगरपालिकामा सात हजार ४८४ गाई र ५९९ भैँसी, खैरहनी नगरपालिकामा ११ हजार ५३५ गाई, एक हजार १२० भैँसीमा कृत्रिम गर्भाधान गराइएको छ ।
राप्ती नगरपालिकामा १२ हजार ५८९ गाई, ८३७ भैँसी र नौ वटा बाख्रा, माडी नगरपालिकामा एक हजार १४० गाई र ३७६ भैँसी र इच्छाकामना गाउँपालिकामा १६७ गाई र २०० वटा भैँसीमा कृत्रिम गर्भाधान गरिएको उहाँले जानकारी दिनुभयो ।
कृत्रिम गर्भाधान गर्दा उन्नत जातका बाच्छाबाच्छी उत्पादन हुने, स्थानीय पशुमा दूध र मासु उत्पादन क्षमता बढ्ने, बहर पाल्नुपर्ने झन्झट र खर्च कम हुने हुँदा कृषक आकर्षित भएको उहाँले जानकारी दिनुभयो । प्राकृतिक साँढेबाट सर्ने यौन तथा सरुवा रोगबाट बचाउन सकिने र थोरै विर्यबाट धेरै पशुलाई प्रजनन गराउन सकिने हुँदा व्यावसायिक पशुपालन गर्ने किसानले कृत्रिम गर्भाधान गराउने गरेको उहाँको भनाइ छ । रासस

























