Breaking News
मानव-वन्जन्तु द्धन्द्ध: पाँच वर्षमा १४६ जनाको मृत्यु

चितवन, साउन १०-
वन्यजुन्तुको आक्रमणबाट नेपालमा पाँच वर्षको अवधिमा एसय ४६ जनाको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्ज विभागका अनुसार नेपालमा पछिल्लो पाँच वर्षमा हात्ती, बाघ, गैंडा, चितुवा, भालु, जंगली कुकुरलगायत वन्यजन्तुको आक्रमणबाट एक सय ४६ जनाको मृत्यु भएको हो । यस्तै तीन सय ९९ जना सख्त र दुई सय ५१ जना सामान्य घाइते भएका छन्। यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिपूर्तिका लागि सरकारले ५८ करोड ५८ लाख २० हजार चार सय ८२ रुपैयाँ खर्चेको छ।
वन्यजन्तुले बालीनाली, घर, गोठमा पनि क्षति पुर्याउने गरेका छन्। देशभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपास हात्ती, बाघ, भालु, गैंडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जंगली बँदेल, अर्ना, मगर गोही, गौरी गाई लगायत वन्यजन्तुसँग मानिसको द्वन्द्व चलिरहेको छ।
निकुञ्ज विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर वन्यजन्तुको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ भने ४८ जना सख्त र ४३ जना सामान्य घाइते भएका छन्। जसमा हात्तीको आक्रमणबाट छजना, बाघको आक्रमणबाट पाँचजना, गैंडाको आक्रमणबाट दुईजना, चितुवा र मगर गोहीको आक्रमणबाट एकएकजनाको ज्यान गएको छ। सो अवधिमा चितवन राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणबाट पाँचजनाको ज्यान गएको छ।
उक्त वर्ष वन्यजन्तुपीडितलाई आठ करोड ७१ लाख ८६ हजार सात सय ५७ रुपैयाँ राहतस्वरुप वितरण गरिएको निकुञ्ज विभागका वरिष्ठ संरक्षण अधिकृत डा। गणेश पन्तले जानकारी दिए। सो अवधिमा पशुधन क्षतिका तीन हजार तीन सय १०, भण्डारण अन्न क्षतिका ७३, घरगोठ क्षतिका २०, माछा क्षतिका सा, कुखुरा क्षतिका ३६ र अन्नबाली क्षतिका एक हजार एक सय २७ वटा घटना भएको विभागको तथ्यांक छ।
विभागको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने मानिसको संख्यामा भने कमी आएको देखिन्छ। वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०७८/७९ मा ५८ जनाको मृत्यु र एक सय १६ जना सख्त घाइते भएको विभागको तथ्यांक छ।
उक्त आवमा वन्यजन्तुबाट भएको क्षतिवापत १५ करोड ५८ हजार दुई हजार चार सय ६८ रुपैयाँ राहत वितरण गरिएको थियो। उक्त अवधिमा हात्तीको आक्रमणबाट २३ जना, बाघको आक्रमणबाट २१ जना, गैंडाको आक्रमणबाट पाँचजना, चितुवा र जंगली बँदेलको आक्रमणबाट तीनतीन, गौरी गाईको आक्रमणबाट एक र अन्य वन्यजन्तुको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो।
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा वन्यजन्तुको आक्रमणबाट ३९ जनाको मृत्यु भएको देखिन्छ। सो अवधिमा वन्यजन्तुबाट भएको क्षतिवापत १३ करोड ५३ लाख ६० हजार नौ सय २६ रुपैयाँ राहत वितरण गरिएको थियो।
उक्त आव हात्तीबाट १४, बाघबाट १२, गैंडाबाट चार, चितुवाबाट तीन, जंगली बँदेलबाट दुई, भालुको आक्रमणबाट एक जना र अन्य वन्यजन्तुको आक्रमणबाट चारजनाको मृत्यु भएको थियो। वन्यजन्तुबाट सामान्य घाइते ७२ जना, सख्त घाइते १२४ जनाको मृत्यु भएको विभागको तथ्यांक छ।
आव २०८०/८१ मा वन्यजन्तुको आक्रमणबाट १९ जनाको मृत्यु भएको विभागको तथ्यांक छ। उक्त आवमा वन्यजन्तुको आक्रमणबाट ५३ जना सख्त र ५० जना सामान्य घाइते भएको विभागको वार्षिक पुस्तिकामा उल्लेख छ। सो अवधिमा विभागले वन्यजन्तुपीडितलाई १३ करोड ६३ लाख एक हजार सात सय २७ रुपैयाँ क्षतिपूर्तिस्वरुप राहत वितरण गरेको थियो।
यसैगरी आव २०८१/८२ मा देशभरि वन्यजन्तुको आक्रमणबाट १५ जनाको ज्यान गएको तथ्यांक छ। आक्रमणबाट ५७ जना सख्त घाइते र १४ जना सामान्य घाइते भएका थिए। उक्त आवमा चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट १० जनाको मृत्यु भएको थियो।
त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट दुईजना, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट एकएकजनाको मृत्यु भएको विभागको तथ्यांंकमा उल्लेख छ। उक्त वर्ष विभागले वन्यजन्तुपीडितलाई सात करोड ११ लाख ६८ हजार छ सय चार रुयैयाँ राहतस्वरुप वितरण गरेको थियो।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७५) बमोजिम राहत उपलब्ध गराइन्छ। नेचर गाइड एसोसिएसनका पूर्वअध्यक्ष बासु विडारी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउँछन्। ‘जिस्काएको अवस्थामा पनि वन्यजन्तुले मानिसलाई आक्रमण गर्छ,’ उनले भने ‘जंगली जनावर हाम्रा लागि हो भन्ने आभास जनतामा हुनुपर्छ।’
उनले वन्यजन्तु बढी आउने ठाउँमा उनीहरूको आनिबानीबारे जानकारीमूलक पोस्टरहरु टाँस्नुपर्ने बताए। चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावरबाट धनजनको क्षति हुने क्षेत्र भरतपुर महानगरपालिका–२३ पनि हो। यस वडामा गत असार २० गते एकै घरका दुईजनाको हात्तीले ज्यान लिएको थियो। वडाध्यक्ष दिपक दवाडी वन्यजन्तु र मानवबिचको द्वन्द्व न्यूनीकरणका लागि जनचेतना विकाससँगै वन्यजन्तुलाई निकुञ्जभित्र बसोबासको राम्रो व्यवस्थापन गर्नुपर्ने बताउँछन्। ‘विश्व सम्पदासूचीमा परेको क्षेत्रमा हामीले केही पनि गर्न सक्दैनौं। त्यहाँका वन्यजन्तुलाई बाहिर आउन रोक्नका लागि भित्र नै चरिचरणसँगै बसोबासको राम्रो व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘दीर्घकालीन रुपमा समस्या समाधान गर्ने हो भने आरसिसी पर्खाल नै लगाउनुपर्छ।’
























