चितवन विशेष
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन, साउन ११-
नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन । विगतका तुलनामा १०० बुलेट हाराहारी दैनिक ग्यास आपूति भइरहेको छ । उहाँले भन्नुभयो, “पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको छ ।” उहाँका अनुसार उपभोक्ताहरुले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो । उहाँले उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताउनुभयो ।
एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेती आफूहरुले छिट्टै पूरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ । सामान्य अवस्थामा जति आवश्यक पथ्र्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ ।
हाल बजारमा एक करोड ५० लाख थान सिलिण्डर छन् । जसमध्ये ५० लाख सिलिण्डर ग्यास डिपोसँग छन् । सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको थियो । हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग छन् । रासस

























