Breaking News
चितवनका जेएन थपलिया बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

चितवन, साउन ९–
चितवनका सांसद जगन्नाथ थपलिया (जेएन) बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।
शनिबार प्रदेश सरकार गठन गर्ने सम्बन्धमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको सहमती अनुसार बागमती प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले)ले गर्नेछ । थपलिया एमालेका संसदीय दलका नेता हुन् । संसदीय दलका नेता नै मुख्यमन्त्री हुर्ने प्रावधान छ । जसका कारण थपलिया मुख्यमन्त्री बन्ने निश्चित बनेको छ ।
थपलिया गत निर्वाचनमा चितवन क्षेत्र नं.१ (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी एमाले चितवनका पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको लिखित सहमति अनुसार, नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्दैछ ।
बागमतीसहित कोशी र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ । मधेश र गण्डकी प्रदेशको हकमा अन्य दलसंग थप छलफल गर्ने सहमती गरेका छन् ।

























