देश/प्रदेश

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

Banner

नेपालगन्ज, साउन ४ –

बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैधरूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/ ०८३ मा त्यस नाकाबाट बरामद गरिएका सामानमध्ये रु ११ करोड ७१ लाख ६३ हजार ४६४ बराबरका सामग्री भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

यस अवधिमा रु २२ लाख ४८ हजार बराबरको काठ बरामद गरिएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै रु ८५ लाख २३ हजार मूल्य बराबरका केही सामग्री भने नष्ट गरिएको सशस्त्र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी गणले रु ६० लाख ९६ हजार ६६३ स्रोत नखुलेको रकम बरामद गरेको थियो । वन्यजन्तुसम्बन्धी ओखेटोपहार करिब रु २१ लाख बराबर बरामद भएको प्रतिवेदनमा जनाइएको छ । सशस्त्र प्रहरी बलले सामान ओसारपसारमा सङ्लग्न भएका २१ जना पक्राउ गरेको थियो ।

पछिल्लो समय लागुऔषध नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । गाँजा ३४३ ग्राम, ट्रामाडोल १५ हजार ८७० टयाब्लेट, नाइट्रोभेट तीन हजार ४० टयाब्लेट, ब्राउन सुगर ३६ ९ ग्राम, अफिम ५.५ केजी, चरेश छ ग्राम, खैरो हिरोइन एक ग्रामलगायत बरामद गरिएको छ । यस अवधीमा लागूऔषध सेवन, ओसारपसार तथा कारोबारमा सङ्लग्न २२ जनालाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिएको सूचना अधिकारी विष्टले बताउनुभयो ।

उक्त गणले मानव बेचबिखन नियन्त्रण अभियानअन्तर्गत २३ जना महिलाको उद्धार गरेको जनाएको छ । मानव बेचबिखनसम्बन्धी सूचनाका आधारमा जमुनाह नाकामा गरिएको जाँचका क्रममा उनीहरूको उद्धार गरिएको उपरीक्षक विष्टले बताउनुभयो ।

सो प्रकरणमा सङ्लग्न रहेको आरोपमा २१ जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

पछिल्लो समय जमुनाह नाकामा सशस्त्र प्रहरी बलले अवैध सामान नियन्त्रण, तस्करी रोकथाम तथा सीमा सुरक्षामा अहोरात्र खटिरहेको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>