देश/प्रदेश
च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना बेपत्ता

महेन्द्रनगर,साउन ४ –
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा यहाँको बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ । तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो ।
सेनाका अनुसार बेल्डाडीका तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए । त्यसैगरी शुक्लाफाँटाभित्र अहिले भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट प्रवेश गरेको १४ जना महिलाको समूह सम्र्पकविहीन छ । रणसिंह दल गणका अनुसार सम्र्पकविहीन महिलाहरुको खोजीकार्यका लागि ठूलो सङ्ख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ ।
बागफाँटा क्षेत्रबाट आइतबार दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निकुञ्जभित्र सम्र्पकविहीन भएका महिलाहरुको खोजी भइरहेको जानकारी दिनुभयो । रासस

























