देश/प्रदेश

ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’

Banner

जनकपुरधाम, साउन ३-

मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेलले ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मुक्त हरवा चरवा समुदायका लागि जलवायु न्याय र सामाजिक समावेशीकरण विषयक मधेस प्रदेशस्तरीय दलित अधिकार सम्मेलनको आज महोत्तरीको बर्दिवासमा उद्घाटन गर्दै मन्त्री पटेलले मधेसमा रहेका हरवा चरवाको समस्यालाई गम्भीर रूपमा लिइएको भन्दै र ऐन बनाएर छिट्टै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हरवा चरवा समुदायको वास्तविक तथ्याङ्क सङ्कलन, प्रमाणीकरण गरी जीविकोपार्जनका कार्यक्रमका लागि प्रदेश सरकारले नीति कार्यक्रममा हरवा चरवा समुदायलाई सम्बोधन गरेको उल्लेख गर्दै मन्त्री पटेलले हरवा चरवाको समस्या दिगो रूपमा समाधान गर्न छुट्टै ऐन निर्माण गरिने जनाउनुभयो ।

विगतमा प्रदेश सरकारले हरवा चरवाको समस्या समाधान गर्न ऐन निर्माणको प्रक्रिया थालेपनि सरकार परिवर्तनका कारण रोकिएको बताउँदै उहाँले यथाशीघ्र ऐन बनाएर काम अघि बढाइने जानकारी दिनुभयो । हरवा चरवा दलित समुदाय सम्बृद्ध नभएसम्म मुलुक सम्बृद्ध हुन नसक्ने भएकाले दलित समुदायको जीवनस्तर सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेश विश्वकर्माले हरवा चरवा मुक्त घोषणा भएको चार वर्ष बितिसक्दा हरवा चरवाको अवस्था र नियति नफेरिएकाले मधेस प्रदेश सरकारले ठोस नीति बनाएर उचित सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

मधेस प्रदेशमा ठूलो समस्याका रूपमा देखिएको हरवा चरवाको समस्यालाई प्रदेश सरकारले गम्भीरता पूर्वक लिएर वास्तविक तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र परिचयपत्र तथा जीविकोपनर्जनका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले यस समुदायको समस्या समाधान गर्न प्रदेश सरकारले प्रदेशस्तरीय समिति तत्काल गठन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रिय हरवा चरवा मञ्चका अध्यक्ष दशनलाल मण्डलले कानुनी रूपमा मुक्ति घोषणा भए पनि यो समुदाय अझै पहिचान, भूमिअधिकार, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, आवास तथा आर्थिक पुनःस्थापनाबाट वञ्चित रहेको गुनासो गर्नुभयो । अधिकांश हरवा चरवा अझै भूमिहीन, नागरिकताविहीन तथा आधारभूत सेवाबाट वञ्चित रहेको उल्लेख गर्दै उहाँले बसोबासको प्रमाण नहुँदा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सरकारी सेवामा समान पहुँचसमेत प्राप्त गर्न नसकेको बताउनुभयो ।

राष्ट्रिय दलित नेटवर्क नेपाल, सामुदायिक सुधार केन्द्र धनुषा, दलित जनकल्याण युवा क्लब सिराहा, जनचेतना दलित संगम सप्तरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्रलगायत संस्थाको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा मधेस प्रदेशका आठ वटा जिल्लाका दलित हरवा चरवा समुदायका अगुवाहरुको सहभागिता रहेको द फ्रिडम फण्डका कानुन सल्लाहकार बलराम भट्टराईले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>