देश/प्रदेश
नेपाली उत्पादनका लागि ब्रिटेनमा भन्साररहित पहुँचको सम्भावनाबारे छलफल

काठमाडौं, साउन २-
ब्रिटिश व्यापार तथा व्यवसाय विभाग, ब्रिटिश दूतावास काठमाडौं, बेलायत–नेपाल ‘नेपाल व्यवसायमा–वृद्धि सल्लाहकार’, र नेपाल ब्रिटेन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ‘बेलायतमा भन्साररहित पहुँचको सम्भावनाः बेलायती विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली निर्यातकर्ताहरूका लागि अवसरहरू’शीर्षकको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमले सरकारी अधिकारीहरू, व्यापार विशेषज्ञहरू, निर्यातकर्ताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याई बेलायतको विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली व्यवसायहरूका लागि उपलब्ध अवसरहरूको खोजी गरेको थियो ।
छलफलहरू भन्साररहित बजार पहुँच, योग्यता तथा अनुपालनसम्बन्धी आवश्यकताहरू, र नेपाली निर्यातकर्ताहरूलाई आफ्नो प्रतिस्पर्धात्मक क्षमता बलियो बनाई बेलायती बजारमा विस्तार गर्न सहयोग पुर्याउने व्यावहारिक रणनीतिहरूमा केन्द्रित रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि ब्रिटिश राजदूत रब फेनले नेपालसँग व्यापार, लगानी र आर्थिक कूटनीतिमा बेलायतको बढ्दो चासोबारे प्रकाश पारे । उनले लन्डनमा भएका हालैका अन्तरक्रियाहरूले बेलायती र नेपाली व्यापार प्रवद्र्धन संस्थाहरूबीचको साझेदारीलाई सुदृढ बनाएको उल्लेख गरे ।
उनले बेलायती विकासशील मुलुक व्यापार योजनाको व्यापक उपयोगले नेपाली निर्यात बढाउने, रोजगारीका अवसरहरू सिर्जना गर्ने र द्विपक्षीय आर्थिक सम्बन्धलाई थप गहिरो बनाउने विश्वास पनि व्यक्त गरे ।
ब्रिटिश उच्चायोगमा दक्षिण एसियाका लागि विकासका निम्ति क्षेत्रीय व्यापार सल्लाहकार एली पार्करले विकासशील मुलुक व्यापार योजनाको संरचना र नेपाली निर्यातकर्ताहरूका लागि यसका फाइदाहरूबारे महत्त्वपूर्ण जानकारीसहितको प्रस्तुति दिइन् ।
पार्करले नेपालले यस योजनाको ‘व्यापक प्राथमिकता’ तहबाट निरन्तर लाभ लिइरहेको र यसले ब्रिटिश बजारमा प्रवेश गर्ने करिब ९९ प्रतिशत योग्य वस्तुहरूलाई भन्साररहित पहुँच प्रदान गर्ने उल्लेख गरिन् ।
साथै, सरलीकृत र थप लचिलो ‘उत्पत्तिको नियम’ ले उत्पादकहरूलाई योग्य वस्तुहरूका लागि भारत र भियतनामजस्ता मुलुकहरूसँगको क्षेत्रीय संचयनसहित ९५ मुलुकसम्मबाट कच्चा पदार्थ प्राप्त गर्न अनुमति दिने उनले बताइन् ।
सहभागीहरूलाई गलैँचा, तयारी पोशाक, पस्मिना तथा ऊनी वस्तु, चिया, प्राकृतिक उत्पादन, हस्तकला र गृह सजावटका उदीयमान बजार अवसरहरू, साथै यस योजनाका प्राथमिकताहरू दाबी गर्न आवश्यक व्यावहारिक कदमहरू जसमा वस्तु वर्गीकरण, उत्पत्तिको नियमको अनुपालन, कागजात, बेलायती मापदण्ड र अभिलेख राख्ने कार्य पर्दछन् बारे जानकारी गराइयो ।
कार्यशालाले नेपाली व्यवसायहरूलाई निर्यात बढाउन, उत्पादन विविधीकरण गर्न र नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धात्मकता बलियो बनाउन बेलायतको प्राथमिकतायुक्त बजार पहुँचको अझ बढी उपयोग गर्न प्रोत्साहित गर्यो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरुङले नेपालको निर्यात सम्भावना बढाउने र नेपाल–बेलायत व्यापार सम्बन्ध थप सुदृढ बनाउने विषयमा जोड दिए ।
बेलायती विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली निर्यातकर्ताहरूका लागि उपलब्ध महत्त्वपूर्ण अवसरहरू औंल्याउँदै उनले यस योजनाले नेपाली वस्तुहरूको विस्तृत दायरालाई भन्साररहित र प्राथमिकतायुक्त पहुँच प्रदान गर्ने र नेपाललाई तयारी पोशाक, गलैँचा, पस्मिना, फेल्टका वस्तु र हस्तनिर्मित कागजजस्ता परम्परागत निर्यातभन्दा पर विस्तार गर्न मद्दत गर्ने बताए ।
बेलायती बजारको सम्भावना पूर्ण रूपमा उपयोग गर्न नेपाली व्यवसायहरूले उत्पादन क्षमता बलियो बनाउन, प्राविधिक दक्षता सुधार्न र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।
कार्यक्रमको समापनमा नेपाल बेलायत वाणिज्य उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य शिव प्रकाश खेमकाले नेपाल र बेलायतबीचको द्विपक्षीय व्यापार तथा लगानी बढाउने व्यापार प्रवद्र्धन, ज्ञान आदानप्रदानका पहलहरू र रणनीतिक साझेदारीमार्फत नेपाली व्यवसायहरूलाई सहयोग गर्ने संघको प्रतिबद्धता दोहो¥याए।
नेपाली तयारी पोसाक, ऊनी सामग्री, गलैँचा, पश्मिना सल तथा हस्तनिर्मित कागजजस्ता उत्पादनहरूले बेलायती बजारमा राम्रो प्रतिष्ठा स्थापित गरेका छन् । त्यहाँ अझै पनि उल्लेखनीय बजार सम्भावना रहेको छ । गत आर्थिक वर्षमा नेपालबाट बेलायततर्फको निर्यात रु तीन अर्ब १७ करोड रहेको थियो भने बेलायतबाट नेपालमा रु छ अर्ब ४१ करोड रहेको थियो ।
नेपाली तयारी पोसाक, ऊनी सामग्री, गलैँचा, पश्मिना सल तथा हस्तनिर्मित कागजजस्ता उत्पादनहरूले बेलायती बजारमा राम्रो प्रतिष्ठा स्थापित गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा नेपालबाट बेलायततर्फको निर्यात रु तीन अर्ब १७ करोड रहेको थियो भने बेलायतबाट नेपालमा रु छ अर्ब ४१ करोड बराबरको सामान निर्यात गरिएको थियो ।

























