देश/प्रदेश
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य

काठमाडौँ, साउन २ –
मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिको उपचारका लागि ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० लाख रुपियाँ खर्च गर्ने भएको छ ।
यसमध्येको २७ लाख रुपियाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपियाँ उद्धार गरिएका व्यक्ति आवश्यक सबैको स्वास्थ्योपचारका लागि खर्च हुनेछ । यसका लागि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सामाजिक समितिका संयोजक रामकुमार केसीको रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आइएडीपीका देशीय निर्देशक कविर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौता अवसरमा आइडीपीका देशीय निर्देशक खड्गीले मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई शिक्षा कार्यक्रम अन्तर्गत पहिलो किस्ताको १० लाख ८० हजार रुपियाँ र स्वास्थ्य कार्यक्रम अन्तरगतको १० लाख ४० हजार रुपियाँ गरी २१ लाख २० हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।
सम्झौता अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, काठमाडौँलाई मानवीयतामा आधारित सहर निर्माण गर्ने क्रममा निजी क्षेत्रको सहभागिता बढेसँगै लक्ष्य नतिजा उन्मुख बन्दै गएको बताउनुभयो । सामाजिक समितिका संयोजक केसीले, संस्थागत सामाजिक उत्तरदायित्वको यो कार्यक्रमले निजी क्षेत्रको उचाइ बढाएको बताउनुभयो ।
आइडीपीका कन्ट्री डाइरेक्टर खड्गीले, पहिलो वर्षको प्रभाव मूल्याङ्कन गरेर सहयोगलाई निरन्तरता दिइने बताउनुभयो । यस्तै आश्रमका अध्यक्ष अधिकारीले, जुन उद्देश्यका लागि सहयोग प्राप्त भएको हो । त्यही लक्ष्यमा मात्र खर्च गर्ने सुनिश्चितता प्रकट गर्नुभयो ।
आइडीपीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खर्च गरिने यस कार्यक्रमको निगरानी काठमाडौँ महानगरपालिकाले गर्नेछ । आश्रमले कार्यक्रम कार्यान्वयन गर्नेछ । विपन्न, अशक्त, घरबारविहीन, शारीरिक रूपमा कमजोर व्यक्तिको स्वास्थ्य र शिक्षामा सहयोग गर्नु सम्झौताको उद्देश्य हो ।
कार्यक्रमअन्तर्गत मानव सेवा आश्रमको हेरचाहमा विद्यालय जाने बालबालिका लागि विद्यालयको शुल्क, पोशाक, सिकाइ सामग्री र शिक्षामा निर्बाध पहुँचका लागि आवश्यक अन्य आवश्यक सहयोग गरेर सिकाइ र नतिजा सुधारका लागि रकम खर्च हुनेछ ।
आश्रमले अहिले बुटबल, हेटौँडा र गोरखामा बाल गृह सञ्चालन गरेको छ । यसरी सञ्चालित आश्रममा ९१ बालक, ६४ बालिका गरी १५५ जना बालबालिका आश्रित हुनुहुन्छ । उहाँमध्ये १२० कजना बालबालिका विद्यालय जान योग्य हुनुहुन्छ । उहाँहरु निजी र सामुदायिक दुवै प्रकारका विद्यालयमा अध्ययनरत हुनुहुन्छ । ३५ जनामा वौद्धिक अपाङ्गतासहित विभिन्न प्रकारको अपाङ्गता भएकाले आश्रममै हेरचाह गर्नु पर्ने अवस्था छ ।
स्वास्थ्य कार्यक्रम अन्तर्गत उद्धार तथा पुनःस्थापनाका गरिने सबै प्रकारका व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यको उपचार तथा औषधि प्रदान गर्नमा खर्च गरिनेछ । यसबाट दीर्घ रोग भएका, मानसिक स्वास्थ्य अवस्था कमजोर भएका, उमेरसँग सम्बन्धित रोगको उपचार गरेर असहाय, बेसहारा व्यक्तिको स्वास्थ्यमा पहुँच वृद्धि गरिने लक्ष्य राखिएको छ ।
काठमाडौँका सडकबाट उद्धार गरिएका व्यक्तिलाई विभिन्न सात वटा शाखामा राख्ने गरिएको छ । यी शाखामा १७६ महिला, ३२३ पुरुष र छ जना बालबालिका गरी ५०५ जना व्यक्ति आश्रित हुनुहुन्छ । आश्रितमध्ये २२१ रानीवन शाखामा, २३ होल्डिङ् सेन्टरमा, ८२ स्क्रिनिङ सेन्टरमा, ४२ धुनीबेँसीमा, ५० सामाखुशीमा, ४५ ललितपुरमा र ४२ जना भक्तपुरमा हुनुहुन्छ ।रासस

























