विचार/ब्लग
अमेरिकामा आमाको झझल्को

सबु सापकोटा-
केही वर्षअघि म अमेरिकामा छँदा आमा बेस्सरी बिरामी हुनुभयो । गाउँमा धेरैले आमा बाँच्ने आस मारिसकेका थिए । तर, आमाले भन्नुभयो, “म जति जे भए पनि छोरी नआई मेरो परान जान्न ।”
त्यतिबेला म अमेरिकामै थिए । नेपाल फर्किन पाएको थिइन् । आमा पनि केही समयपछि निको हुनुभयो । पछिल्लो पटक आमा बिरामी हुँदा म पनि अमेरिकाबाट घर फर्किए । तीन महिना आमासँगै अस्पताल ओहोरदोहार गरेँ । जति कोसिस गर्दा पनि आमा निको हुनु भएन । उमेर पनि ढल्किसकेको थियो । अघिल्लो पटक भनेजस्तै गर्नुभयो, मसँगै छँदा परान त्याग्नुभयो ।
समय कति छिट्टै बितिगएको हो कि ढिला भएको हो, अहिले खुट्याउनै सकस परिरहेको छ । आमाबिना दुई वर्ष भइसक्यो । अझै पनि आमा ‘मसँग, हामीसँग हुनुहुन्न’ भन्ने मनस्थिति बनाउन सकिराखेको छैन ।
असार ३२ गते, आमाको दोस्रो वार्षिक पुण्य तिथि । सँधैजसो ब्युझेदेखि आमालाई नै सम्झिरहन्छु । बितेका पलको याद भनौं या सम्झना, सँधै आइरहन्छ । समयसँगै चल्दै जाँदा कति समय आमाको साथैमै रहन सकें, कति समय जागिरका लागि घरबाहिर बसें । कति समय त परदेशमा नै बितिगए । यतिमा मन बुझाउने प्रयास गरेको छु कि अन्तिम समयमा आमासँगै हुन पाएँ ।
आमा जीवनको अन्तिम तीन महिना वरिपरि रहन पाएँ । अस्पतालको बसाइँमा पनि सँगै हुन पाएँ । यसैमा मैले मन बुझाउने प्रयास गरिरहेकी छु । आमासँग सन्तानको अनन्य सम्बन्ध हुन्छ । म त कान्छी भएकाले झन आमाको सामिप्यमा लुटमुटिन पाएँ । जब केही बुझ्ने भएँ, आमाको हरेक आनीबानी, व्यवहार र संस्कार पछ्याउन थाले । आमाका हरेक क्रियाकलापको साक्षी बनदै गए ।
जुनसुकै पाइला चाल्दा पनि आमाले भन्ने गरेका कुरा अहिले पनि कानमा गुञ्जिरहेका छन् । आमालाई मन नपर्ने कुरा कहिले गरिनँ । जसरी आमाले पनि मलाई मन नपर्ने कुरा गर्नुभएन । आमाले जस्तै मैले पनि आमालाई पीर पर्छ भनेर कति पीडा आफुसँगै हराइदिन्थे । अनि, एकान्तमा आँशुसँगै पीडा पनि बगाउँथे ।
आमाले हामीलाई त बाबाको अभाव हुन दिनुभएन । तर, आमाको आँखामा भने बाबाको अभाव झल्किन्थ्यो, त्यो म महशुस गर्थें । त्यसैले होला, आमाको दुःख, पीडा र परिश्रम देखेर सानैमा अलि व्यावहारिक भएछु । आफ्नो लागि भन्दा पनि आमालाई खुशी मिल्ने कुरा गर्न सधैं तल्लिन हुन्थे । छोरी मान्छे भनेर अरूले सोच्ने सोचाइँबाट टाढा भएँ । आमाले दिएका संकार र आनीबानी अँगाल्न जाँदा निडर र साहसी बन्दै गए ।
आमाले भन्ने एउटा वाक्य अझै कानमा ठोक्किरहन्छ, ‘मेरी छोरी, जहाँ जस्तो ठाउँमा गए पनि नराम्रो गर्दिन ।’ आमाको त्यो विश्वास टुट्न दिएको छैन । आफूले जति कष्ट भोगे पनि आमाको त्यो विश्वास र भरोषा मसँग सधै रहनेछ । किनकि म मेरी साहसी आमाकी छोरी हुँ, जसले मलाई निडर, साहसी र आत्मनिर्भर बन्न र एक्लै भए पनि सत्यको बाटो हिड्न सिकायो ।
‘सबैलाई दिएर खान पाउँ’, ‘अन्याय कसैलाई गर्नुहुन्न, आफूले पनि सहनुहुन्न’ भन्ने आमाका भनाइहरू नै जीवनका विशेषता बनेका छन् । ती हरेक शब्द र तिनको आशय बुझेर काम गर्थें, गरिरहेकी छु । तैपनि आामासँगै कति धेरै सपना बुनेकी थिएँ । कति सपना पूरा गरेँ, कति बाँकी थिए । ति सपना पूरा गर्न समयले ढिला गरिदियो, अनि आमाको समय भने पूरा भइसकेछ ।
‘तीन पटक स्वर्गमा पुगेर आएँ’
यति बेला आमाले भनेका धेरै कुरा झलझली मानसपटलमा आइरहेका छन् । मेरो पछिल्लो आठ वर्ष अमेरिकामै बित्यो । आमासँग धेरै समय बिताउन पाइनँ । जति समय बिताएँ, त्यो अमूल्य रह्यो ।
आमा र म एक्लै हुँदा धेरै कुराकानी गथ्र्यौं । अरूका अगाडि धेरै कुरा नगरे पनि हामी दुई जना हुँदा आमा आफ्नो मनका भित्री कुरा, पीडा पोख्थिन् । खुशीका कुरा पनि सुनाउँथिन् । कति बेला जिस्किन्थिन् पनि । एक पटक हस्पिटलको बेडबाटै भनेकी थिइन्, ‘मेरो त मोतीबिन्दु पनि गएछ, छ्याङ्ग देख्न थालेँ ।’
एक दिन कुराकानी गर्दागर्दै म भावुक भए । आमाको गल्दै गएको ज्यानको चिन्ता लाग्यो । त्यतिबेला आमाले सान्त्वना दिँदै भनेकी थिइन्, “म त तीन पटक स्वर्गमा पुगेर आए नि ! अब त बाँचे ।”
कहिलेकाँही आमा भावुक भएर पनि सम्झाउँथिन् । धेरै पटक भनेकी छन्, “म मरे भने टुहुरी हुने तै हो, मलाई धेरै माया नगर । तैंंले गर्ने सबै गरिसकिस् नानी, म तँसँग धेरै खुशी छु ।” अहिले त्यस्तै लागिरहेको छ । आमा त माथि बुवासँग गफिन्छिन् होला । म भने टुहुरी बनेकी छु । सबैका आ–आफ्नै संसार छन् । मेरो संसार आमा नै थिइन् । त्यसैले आमाले गर्नेजस्तो मायाको महशुस कतैबाट हुन्न ।
आमाले घुमेको अमेरिकाको त्यो गोलो घर
आठ वर्ष अघि जब म अमेरिकामा आएँ, मेरो एउटै इच्छा थियो आमालाई अमेरिका घुमाउने । म परदेशिनुमा पनि आमालाई विदेश घुमाउँने सपना मिसिएको थियो ।
हाम्रा आफन्तका सबै आमाबुबाले विदेश घुमिसकेका थिए । आमा मात्रै विदेश घुम्नु भएको थिएन । गाउँघरमा कुराकानी हुँदा विदेश घुमेका आफन्तका गफ आमाले चासो दिएर सुनिरहेको देख्थे । त्यसैले मैले पनि मेरी बुढीमाउँलाई विदेश घुमाउनुपर्छ भन्ने अठोट बोकेकी थिएँ ।
त्यहि भएर होला, मेरो कर्मभूमि अमेरिका बनेदेखि नै आमालाई ल्याउन योजना बनिरह्यो । तर, त्यो यस्तो बेला थियो, धेरैको भिसा अस्वीकृत भइरहेको थियो । आमाको पनि भिसा लाग्छ कि लाग्दैन भन्ने धुकचुक थियो । म अमेरिका आएको पनि धेरै समय भएको थिएन । तर, आमाको भिसा लाग्यो । त्यो खबरले खुशीको सीमा नै रहेन ।
अमेरिका आएको डेढ वर्षमै आमालाई ल्याउन पाए । देख्नेलाई जति सहज देखियो तर त्यो सपना पूरा गर्दाका संघर्षले अझै झस्काइरहन्छ मलाई । त्यही सपना पूरा भएको समय अर्थात आमाका अमेरिका बसाइँका दिन मेरो जीवनका सबैभन्दा अमूल्य सम्झना बनेका छन् ।
अमेरिकामा हामी बस्ने अपार्टमेन्टको तल ठूलो पार्क थियो । एक दिन एक जोडी आमाबुबासँग आमा कुराकानी गरिरहेको सुने । आमाले भनिन्, “सबै ठाउँ नयाँ, अचम्म लाग्दा रहेछन् । बुढेसकालमा छोरी पाएकी थिएँ । घुमाई छोरीले, कोही नआएको ठाउँ म आउन पाएँ ।”
आमाको यो भनाइ सुन्दा भावुक बनेकी थिएँ । यो क्षण मेरा हर्षका आँशु खसेका थिए ।
अर्को, हाम्रो अपार्टमेन्ट नजिकै एउटा सपिङ सेन्टर थियो । जुन बाहिरबाट हेर्दा गोलो आकारको देखिन्थ्यो । नजिकै हिडेर जान सजिलो हुने भएर पनि होला, आमाले बेला बेला भन्ने गर्थिन, ‘ए केटाकेटी हो, त्यो गोलो घर घुम्न जाउँ न !’
आमाको मुहारमा गहिरो हाँसो बिरलै देखिन्थ्यो । सायद घर व्यवहारको भारीले थिचेर होला । जब अमेरिका आएर विभिन्न ठाउँ सँगसँगै घुम्यौँ । त्यसपछि भने आमाले सबै दुःख, पीडा बिर्सिएर हाँसेको देखें । ती दिन नै मेरो जीवनको सबैभन्दा हर्षको दिनहरू थिए ।
आमाको स्वास्थ्य पनि अलि कमजोर थियो । त्यसैले स्वास्थ्य ख्याल राख्दै मुख्य–मुख्य ठाउँ घुम्यौं । त्यो बेला आमालाई परदेशको दुःख र संघर्ष देखाउन चाहिनँ । त्यसैले आमा अमेरिकामा रहँदासम्म काममा गइनँ । धेरै समय आमासँग बिताउन पाएँ । त्यो निर्णय सहज थिएन, तर मेरो दाजु (कजन) को साथले सम्भव भयो । उहाँको त्यो गुन म जीवनभर सम्झिरहनेछु ।
घुम्दाफिर्दै जब हामी न्यूयोर्कको नियाग्रा फल्स पुग्यौँ, आमा साह्रै खुशी हुनुभयो । वरिपरि हेर्दै मनैदेखि मुस्कुराउनु भयो । अनि आमाले भन्नुभयो, “स्वर्गै रहेछ नि, नानी !”
आज पनि कानमा त्यही आवाज गुन्जिरहन्छ । मलाई फेरि आमालाई अमेरिका घुमाउने इच्छा थियो । तर, त्यो इच्छा पूरा हुन सकेन । आमा बुवालाई भेट्न स्वर्ग जानुभयो, म आमाले भनेको स्वर्गतिर अमेरिका आएँ । अहिले आमाले अमेरिकामा छोडेका पदचाप पछ्याइरहेको छु । जहाँ जहाँ जान्छु, आमाकै झझल्को आउँछ । सोच्छु, आमा नभए पनि अमेरिकामा आमाको झझल्को मसँगै छ ।
मेरी सखी आमा
आमा हाँस्दा नै सन्तानको संसार हाँस्छ । मेरो पनि संसार हाँस्थ्यो । आमा मेरो आमा मात्रै थिएन, सखी पनि थिइन् । मेरो खुशीमा दिल खोलेर हाँस्थिन्, दुःखमा मन खोलेर अंगालिदिन्थिन् । जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्ने शक्ति मिल्थ्यो ।
तैपनि पीडा बिसाएर कहिले पनि आमाका अगाडि रून सकिनँ, रोइन पनि । यसको अर्थ सबैले खुशी देख्थे । म कहिले चाहन्थिन कि मेरो संघर्ष र पीडाको कहानीले आमाको आँशु झरोस् । तर, म चाहन्थे मेरा सबै संघर्ष, पीडा अनि सफलता आमालाई बताउन ।
सोच्थे, केही वर्षपछि मेरा संघर्षका दिन सकिन्छन् । जीवन सहज बन्छ । एक प्रकारले भन्दा सपना पूरा हुन्छ, सफलताको एउटा बिन्दुमा पुग्छु । अनि आमालाई मेरो संघर्ष, पीडा सुनाउँदै अँगालो हालेर रुन सक्छु । जुन अधुरै रह्यो । अब चाहेर पनि त्यो सपना पूरा हुँदैन ।
अझै पनि फोनको घण्टी बज्दा झसङ्ग हुन्छु । आमाको कल आयौ की भन्ने सोच्छु । हरेक चाडपर्व, विशेष दिनमा नेपालमा उज्यालो हुनासाथ फोन आइहाल्थ्यो । उही स्वर सुनिन्थ्यो, “नानी, आज तीजको दिन हो । नानी, आज त घटस्थापना हो । जमरा राख्ने होला, आफैले नगरी हुन्न । तिमीहरूको त आज राति छ, भोलि बिहान राख्नू ।”
दुई वर्ष भयो, आमाको माया र आर्शिवाद सात समुन्द्र नाघेर यो परदेशसम्म आइपुग्न छोडेको । अब कसले भन्ला र! दशैं आउला र खोइ !
जन्मदिन भनेर सम्झिने बित्तिकै आँशु रोकिँदैनन् । आमा हुँदा नेपालबाट बिहानै कल आउँथ्यो । एउटै वाक्य हुन्थ्यो, “ह्यापी बड्डे नानी, चिरञ्जिवी आयु होस् ।”
त्यो कल नआएको दुई वर्ष भयो । अहिले त जन्मदिनको अर्थ नै नभए जस्तो लाग्न थालेको छ । मेरा सारा सपना र खुशी आमासँगै गए । आज आमाले छाडेर मलाई टुहुरी बनाएर गएको पनि दुई वर्ष पुग्यो । तर मेरा लागि एक लाख वर्ष जस्तै भएको छ । आजको दिन मेरो जीवनको कालो दिन हो, बाहिर जति उज्यालो भए पनि मेरा लागि सधै औशीको रात जस्तै हो । तिमी उज्यालो स्वर्गमा बाबासँगै अतितका कहानी सुनाउँदै हाँसीखुशी रहनु ल ।
अरूका लागि गर्दागर्दै, अरूलाई नै खुशी बनाउँन र सुख दिन खोज्दाखोज्दै आधा जीवनसम्म आफैलाई मारेको पत्तो पाएनछु । मेरा पीडा देखेर खुशी हुने केहि आफ्नाहरू र मेरो पीडा देख्न नसकि तिमी हाँस्नुपर्छ भन्दै दिनहुँ प्रेरणा दिनुहुने मनभित्रका ब्यक्तिहरूको ऋण तिर्न कसरी सकुँला र खै ?
एक पटक भावकु भएर मैले आमालाई भनेको थिए, “म पनि मरौं त ममी ।” आमाले झर्किँदै भन्नु भएको थियो, “हुन्छ, तँ मसँगै गए, मलाई पनि उता ढुक्क हुन्छ ।” तर, सँगै मर्न नसकिँदो रहेछ । तिमीसँगै जान सकिनँ, तर तिमीबिना बाँच्न पनि सकिराखेको छैन । बाँच्ने कोसिस गरिरहेकै छु, तिम्रै झझल्कोसँगै । बस यत्ति चाहन्छु जहाँ रहे पनि खुशी रहनू, आमा ।
(लेखक सापकोटा हाल अमेरिकामा हुनुहुन्छ )































