चितवन विशेष
चितवनमा किशोरमाथि चक्कु प्रहार घटनाः धरौटी बुझाउन नसकेपछि मुख्य अभियुक्त कारागार चलान

चितवन, भदौ ४-
भरतपुर–१२ नौरङ्गेस्थित गुरुङ टोल बस्ने १६ वर्षीय रिदम पराजुलीलाई चक्कु प्रहार भएको घटनाका मुख्य अभियुक्त कारागार चलान भएका छन् । चक्कु प्रहार गरेपछि फरार रहेका भरतपुर–२२ पटिहानीका १९ वर्षीय विश्वास गुरुङलाई प्रहरीले पक्राउ गरी आज चितवन जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेकामा बुझाउन नसकेपछि गुरुङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
अदालतका न्यायाधीश पुनराम खनालको इजलासले थुनछेक बहसपछि गुरुङसँग एक लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले घटना भएको दुई महिनापछि गुरुङलार्ई पक्राउ गरेको थियो । पराजुलीमाथि गुरुङसहित पाँच जनाको समूहले गएको जेठ ३१ गते चक्कु प्रहार गरेको थियो । चक्कु प्रहार गर्ने मुख्य व्यक्ति गुरुङ नै थिए । अन्य चार जना अभियुक्त त्यतिबेलै पक्राउ परेका थिए । सामान्य विवादको विषयलाई लिएर पराजुलीमाथि चक्कु प्रहार भएको थियो ।
चितवन जिल्ला अदालतले घटनाका एक अभियुक्त मिसन पौडेललाई केहि दिनअघि पुर्पक्षका लागि हेटौंडास्थित बाल सुधारगृह पठाउने आदेश दिएको छ । त्यस्तै १८ वर्षीय सुधीर क्षेत्रीलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ भने उमेर नपुगेका विशेष लोह र जेनिस गुरुङलाई साधारण तारेखमा रिहा गरिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश पुनाराम खनालको इजलासले उक्त आदेश दिएको हो।

























