Breaking News
चितवनमा एक किशोरमाथि चक्कु प्रहार गरी फरार भएका अभियुक्त दुई महिनापछि पक्राउ

भरतपुर, भदौ ४-
भरतपुर–१२ नौरङ्गेस्थित गुरुङ टोल बस्ने १६ वर्षीय रिदम पराजुलीलाई चक्कु प्रहार गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटना भएको दुई महिनापछि फरार अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर–२२ पटिहानी बस्ने १९ वर्षीय विश्वास गुरुङ रहेका छन् ।
पराजुलीमाथि गुरुङसहित पाँच जनाको समूहले गएको जेठ ३१ गते चक्कु प्रहार गरेको थियो । चक्कु प्रहार गर्ने मुख्य व्यक्ति गुरुङ नै थिए । अन्य चार जना अभियुक्त त्यतिबेलै पक्राउ परेका थिए । सामान्य विवादको विषयलाई लिएर पराजुलीमाथि चक्कु प्रहार भएको थियो ।
चितवन जिल्ला अदालतले घटनाका एक अभियुक्त मिसन पौडेललाई केहि दिनअघि पुर्पक्षका लागि हेटौंडास्थित बाल सुधारगृह पठाउने आदेश दिएको छ । त्यस्तै १८ वर्षीय सुधीर क्षेत्रीलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ भने उमेर नपुगेका विशेष लोह र जेनिस गुरुङलाई साधारण तारेखमा रिहा गरिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश पुनाराम खनालको इजलासले उक्त आदेश दिएको हो।

























