देश/प्रदेश
आज साउने संक्रान्ति : स्नान, दान, लुतो फाल्ने परम्परा र शिव आराधनासहित देशभर मनाइँदै

काठमाडौँ, साउन १ –
आज साउने संक्रान्ति पर्व देशभर परम्पराअनुसार स्नान, दान, आफन्तसँगको भेटघाट तथा विभिन्न सांस्कृतिक र धार्मिक गतिविधिसहित मनाइँदै छ।
सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्तिका रूपमा मनाउने परम्परा छ। यसै दिनदेखि सूर्यको दक्षिणायन यात्रा सुरु हुने धार्मिक विश्वास रहेको छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने गर्दछन्।
असार महिनाभर धान रोपाइँमा व्यस्त रहने किसान तथा सर्वसाधारणले हिलो र मैलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्ने विश्वासका साथ साउने संक्रान्तिमा ‘लुतो फाल्ने’ परम्परा पनि निर्वाह गर्ने गरेका छन्।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती लगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको प्रतीकात्मक पूजा गरिन्छ। त्यसपछि अगुल्टो बाहिर फाल्दै रोगव्याधि र अशुभ शक्तिलाई घरबाट हटाइएको विश्वास गरिन्छ।
लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टी बजाउने तथा घरका ढोका बन्द गर्ने चलन पनि नेपाली समाजमा अझै कायम छ।
साउन महिना भगवान् शिवको आराधनाका लागि विशेष मानिन्छ। विशेषगरी महिलाहरू हरिया चुरा, हरिया वस्त्र तथा मेहन्दी लगाएर साउनको स्वागत गर्ने परम्परा रहेको छ, जसलाई हरियाली, समृद्धि र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ।
साउन महिनाभर काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा दर्शन र पूजा–आराधनाका लागि भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। विशेषगरी सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले साउनका सोमबारहरूमा शिवालयहरूमा भक्तजनको चहलपहल अझ बढ्ने गर्दछ।
यस वर्ष साउन महिनामा चार वटा सोमबार परेकाले ती दिन शिवालयहरूमा विशेष पूजा, जलाभिषेक र भक्तजनको ठूलो भीड रहने अपेक्षा गरिएको छ।
























