देश/प्रदेश

मुर्रा राँगाको वीर्य किसानलाई वितरण

Banner

ललितपुर, असार ३२ –

नेपालमा भैँसीको नश्ल सुधार तथा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण गरिएको छ ।

मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो । जुन मूल रुपमा भारतको पञ्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो । यो भैँसी व्यावसायिक रुपमा निकै लाभादायक मानिन्छ ।

पशु सेवा विभागका सूचना अधिकारी डा इन्दिरा शर्माले भारतबाट उपहार स्वरूप प्राप्त मुर्रा राँगाबाट हालसम्म कूल एक लाख ३० हजार ४२४ डोज वीर्य जम्मा गरिएको बताउनुभयो ।

उहाँले ४८ हजार ८५६ डोज वीर्य विभिन्न कृत्रिम गर्भाधानका लागि किसानसम्म पु¥याइएको बताउनुभयो । उच्च प्रजनन् क्षमता भएका मुर्रा राँगा भारत सरकारले विसं २०८० मङ्सिरमा उपहार स्वरूप उपलब्ध गराएको हो ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा सात, लहानमा पाँच र नेपालगञ्जमा तीन गरी १५ वटा मुर्रा राँगाबाट कृत्रिम गर्भाधानका लागि वीर्य जम्मा गरिँदै आएको छ ।

“मुर्रा राँगाबाट वीर्य सङ्कलन र वितरण निरन्तर भइरहेको छ । कृत्रिम गर्भाधानबाट पाडा जन्मिन थालेका छन् । तर यसबाट दूध उत्पादन र नश्ल सुधारमा कति प्रभाव परेको छ भन्ने विषयमा अहिले नै निष्कर्ष निकाल्ने अवस्था छैन”, डा शर्माले भन्नुभयो ।

मुर्रा जातको भैँसीले एक बेतमा चार हजारदेखि पाँच हजार लिटरसम्म दूध दिन्छ । जब नेपालका विभिन्न स्थानीय क्षेत्रका स्थानीय जातका भैँसीले सरदर एक हजार ५०० देखि एक हजार ६०० लिटरसम्म दूध दिन्छन् ।

कृत्रिम गर्भाधान प्रविधिको विस्तारसँगै उन्नत नश्लका भैँसी उत्पादन हुने, किसानको उत्पादन लागत घट्ने तथा दुग्ध उत्पादनमा वृद्धि भई पशुपालन व्यवसाय थप व्यावसायिक बन्ने अपेक्षा गरिएको पशु सेवा विभागले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>