देश/प्रदेश

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालनः उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

Banner

इलाम, असार ३२-

इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो ।

उद्योग सञ्चालक गृष्म सुब्बाले उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनीका बजारमा बिक्री हुने गरेको जानकारी दिनुभयो छ । इलाम नगरपालिका–४ जस्बिरे गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने हरियोपत्ती र उद्योगकोे ६० रोपनी तथा भाडामा लिएको ४०० रोपनी जमिनमा उत्पादन हुने हरियोपत्ती प्रशोधन भइरहेको उहाँले बताउनुभयो ।

“वार्षिक ३० हजार केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन भइरहेको थियो । यस वर्षदेखि उत्पादन क्षमता बढाएर एक लाख केजी पु¥याउने तयारी छ”, सञ्चालक सुब्बाले भन्नुभयो, “दुई बर्षअघि भएको आगलागीमा रु आठ करोड बराबरको क्षति बेहोरेर फेरि शून्यबाट यात्रा सुरु गरेका हौँ ।”

एक दशकअघि रु १४ लाखको लगानीबाट सुरु गरिएको जस्बिरे चिया प्रशोधन उद्योग अहिले रु आठ करोडको लगानीमा विस्तार भएको छ । उद्योगको सबैभन्दा ठूलो विशेषता ‘स्पेशल टी’ हो । वार्षिक सात हजार केजी उत्पादन हुने यो चियामध्ये करिब दुई हजार केजी सुइरोबाट मात्र तयार गरिन्छ । उद्योगले प्रतिकेजी रु १५ हजारमा बिक्री गर्ने यही चिया विदेशी बजारमा रु एक लाखसम्ममा पुग्ने उद्योगका अर्का सञ्चालक सरद सुब्बा बताउनुहुन्छ ।

“नेपालसँगै अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क र जर्मनीसम्म जस्बिरे चियाले बजार बनाएको छ ।” शरदले भन्नुभयो, “विदेशमा पुगेपछि हामीले रु १५ हजार प्रतिकेजी बेचेको चिया रु एक लाखसम्ममा बिक्री भएको छ ।”

उद्योगको सफलतामा सुब्बा परिवारका सबै सदस्यको भूमिका छ । ‘नेपाल टी च्यालेन्ज–२०२४’ का ‘बेस्ट टी मेकर’ शरद् सुब्बाले चियाको गुणस्तर सम्हालिरहनुभएको छ भने अन्य सदस्यले बजार व्यवस्थापन, प्राविधिक पक्ष र अन्तरराष्ट्रिय प्रवद्र्धनमा जिम्मेवारी बाँड्नुभएको छ । विसं २०४२ मा स्वर्गीय भैरव रिसालले सुरु गराएको चियाखेती विस्तारको अभियान आज फैलिरहेको हो । रिसालले यहाँ आउँदा आलुखेती मात्र होइन चिया रोप्न पनि सिकाउनुभएको थियो । त्यतिखेर चियाखेतीबारे ज्ञानआर्जन गर्नुभएका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरूले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन ।
तर, अहिले उहाँका छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको हो । सूर्यका चार भाइ छोरा हुनुहुन्छ । त्यसमध्येका जेठो र माइलो शरद् र गृष्मले १० वर्षअघि जम्मा रु १४ लाख लगानीमा उद्योग सुरू गर्नुभएको थियो ।

गृष्मले उद्योगको बजार व्यवस्थापन गर्नुहुन्छ । शरद् नेपालकै ‘बेस्ट टी मेकर’ हो । उहाँले चिया बनाउन थालेको २० वर्ष भइसकेको छ । उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरद बनाउनुहुन्छ । साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो । कान्छा छोरा विकल्प अस्ट्रेलियामा मार्केटिङ अध्ययनरत हुनुहुन्छ । गृष्मका छोरा कर्म पनि भर्खरै पढाइ सकेर उद्योगमा काम गर्न आउनुभएको छ । उहाँको काम विदेशी पाहुनालाई चियाको बारेमा जानकारी दिनु हो ।

यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । एक वर्षमा ‘स्पेशल टी’ मात्र सात हजार केजी उत्पादन हुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>