देश/प्रदेश
ताप्लेजुङको सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता

ताप्लेजुङ, असार ३१ –
स्थानीय फुङ्लिङ नगरपालिका–९ स्थित सिद्धिडाँडा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भए तापनि प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ ।
हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित विभिन्न धार्मिकस्थल रहेको सिद्धिडाँडामा चण्डेश्वर महादेव, महाबौद्ध ठिसोङ गुम्बा, पाथीभरा देवी, चण्डी, सरस्वती, गोपेश्वर महादेव, जलेश्वर महादेव, शेषनागको मन्दिर रहेको छ ।
प्राकृतिक सम्पदाले भरिपूर्ण त्यस क्षेत्रमाजलेश्वर–शेषनाग र गङ्गामाई पोखरीसमेत रहेकाले धार्मिक तथा आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्ने प्रशस्त सम्भावना छ ।
महाबौद्ध ठिसोङ गुम्बा संरक्षण समितिकी अध्यक्ष कमला रम्तेलका अनुसार अहिले दैनिक सरदर ५० देखि ६० जना आन्तरिक पर्यटक सिद्धिडाँडा पुग्ने गरेको पाइन्छ । त्यहाँ शिवरात्रि, नवरात्र, साउनको सोमबार तथा बालाचतुर्दशीका अवसरमा धेरै सङ्ख्यामा भक्तजन पुग्छन् ।
नवरात्रमा देवीको विशेष पूजा, साउनको सोमबार र महाशिवरात्रिमा महादेवसम्बन्धी विशेष पूजा आराधना हुने गरेको छ । त्यस्तै बालाचतुर्दशीमा त्यहाँ शतबिज छर्ने परम्परा छ । महाशिवरात्रिका अवसरमा नेपाली सेनाले आफ्नो स्थापना दिवससमेत त्यहाँ आयोजना गर्दै आएको छ ।
नगरपालिकाले त्यस डाँडाको विकासका सन्दर्भमा घेराबेरा निर्माण, पोखरी संरक्षण, रेलिङ निर्माण तथा स्तुपा निर्माणमा सहयोग गर्दै आएको छ ।
महाबौद्ध ठिसोङ गुम्बा संरक्षण समितिकी अध्यक्ष कमला रम्तेल गुम्बाको स्तरोन्नति, पार्क र विश्रामस्थल निर्माण तथा अन्य आवश्यक पूर्वाधार विकासका लागि तीन तहकै सरकारबाट विशेष पहल हुनुपर्ने बताउनुहुन्छ ।
चण्डेश्वर महादेव धाम संरक्षण समितिका अध्यक्ष रञ्जिता गुरुङ पनि धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको त्यस डाँडाको व्यवस्थित विकास र प्रचारप्रसार गर्नसके जिल्लाकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुहुन्छ । रासस

























