कृषि
आलेखः व्यावसायिक बेसारखेतीमा इलामका किसान

रामकुमार लिम्बू,
फिक्कल (इलाम), असार ३०
इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले यसवर्ष १०० केजी बीउ बेसार रोप्नुभएको छ । केही वर्षअघिसम्म घरायसी मसलाको रुपमा मात्र प्रयोग गर्न बेसार रोप्दै आउनुभएका निरौलाले करिब तीन रोपनी खेतीयोग्य जमिनमा बेसारखेती गर्नुभएको हो ।
स्थानीय ‘गजुरमुखी महिला बहुउद्दश्यीय सहकारी संस्था’ले बेसारको बीउ निःशुल्क उपलब्ध गराउने र उत्पादन समेत सहकारी संस्थाले नै खरिद गर्न थालेपछि निरौलाले व्यावसायिक बेसार खेती सुरु गर्नुभएको हो । ‘‘बेसार खेती सुरु गर्न सहकारी संस्थाले सुरुमा बीउ दिने र उत्पादन पनि उसैले खरिद गर्ने भएपछि व्यावसायिक बेसार खेती सुरु गरेको हुँ,’’ उहाँले भन्नुभयो, ‘‘यसलाई आगामी वर्ष अझ विस्तार गरेर लैजाने योजना बनाएको छु ।’’
माङसेबुङ–१ की अर्की किसान अन्जु लिम्बूले पनि यस वर्ष ९५ केजी बीउ बेसार रोप्नुभएको छ । थोरै जग्गामा बेसार खेती गरेर पनि राम्रो आम्दानी हुन थालेपछि बेसार खेती विस्तार गर्नुभएको उहाँले बताउनुभयो । ‘‘गजुरमुखी महिला बहुउद्दश्यीय सहकारी संस्थाबाट अर्को साल ‘आधा परिमाण फिर्ता गर्नेगरी’ बेसारको बीउ पाएपछि खेती विस्तार गरेकी हुँ,’’ सहकारी संस्थाकी सदस्य समेत रहनुभएकी लिम्बूले भन्नुभयो, ‘‘यसवर्ष मैले सहकारी संस्थाबाट ९५ केजी बीउ पाएँ । उत्पादन भएपछि अर्को साल ४२.५ केजी बेसार सहकारी संस्थालाई फिर्ता गर्नेछु ।’’
निरौला र लिम्बू मात्र होइनन्, गजुरमुखीका ७२ जना किसान व्यावसायिक बेसार खेतीमा लाग्नुभएको छ । किसानहरुले आफ्नो खेतीयोग्य जग्गामा बेसार खेती सुरु गर्नुभएको छ । सहकारी संस्थाले बेसारको बीउ निःशुल्क उपलब्ध गराउने र उत्पादन समेत खरिद गर्ने भएपछि यहाँका किसानहरु व्यावसायिक बेसार खेतीमा लाग्नभएको हो । किसानहरुमा आयआर्जनमा वृद्धि गर्न र स्वरोजगार सिर्जना गर्न सहकारी संस्थाले बेसार खेतीमा सहयोग गर्दै आएको सहकारी संस्थाकी अध्यक्ष डिकमाया लुहागुनले बताउनुभयो । चार वर्ष अघिसम्म छिटफुट रुपमा बेसार खेती गर्दै आउनुभएका नाङरुङका सिङ्गो गाउँका किसानहरु अहिले व्यावसायिक बेसार खेतीमा लाग्नुभएको हो । यहाँका ७२ किसानले करिब ५० रोपनी क्षेत्रमा बेसार खेती लगाउनुभएको अध्यक्ष लुहागुनले बताउनुभयो । बीउ र उत्पादन दुवैमा सहकारी संस्थाको सहयोग भएपछि यहाँका किसानहरु व्यावसायिक बेसार खेतीमा आकर्षित भएको उहाँले बताउनुभयो ।
‘‘हामीले तीन वर्षदेखि यहाँका प्रत्येक किसानलाई बीउको आधा परिमाण उत्पादन फिर्ता गर्ने शर्तमा बेसारको बीउ वितरण गर्दै आएका छौँ । यस वर्ष मात्र ३१ क्विन्टल बेसारको बीउ वितरण गरेका छौं,’’ अध्यक्ष लुहागुनले भन्नुभयो, ‘‘यसवर्ष ४० केजी बीउ लगेका किसानले अर्को साल उत्पादन भएपछि २० केजी सहकारी संस्थालाई फिर्ता गर्नुहुन्छ । त्यही बेसार पुनः अर्को किसानलाई दिनेछौँ ।’’
उहाँले सहकारी संस्थाबाट एक किसानले पाँच मनसम्म बीउ लगेको बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको बेसार बेच्नका लागि किसानले कुनै चिन्ता लिनु पर्दैन । उत्पादित सबै बेसार सहकारी संस्थाले नै खरिद गर्ने गरेको छ । ‘‘किसानले उत्पादन गरेको बेसार बिक्दैन कि भनेर चिन्ता लिन पनि पर्दैन,’’ अध्यक्ष लुहागुनले भन्नुभयो । उत्पादन गुणस्तरका आधारमा सहकारी संस्थाले नै प्रतिमन रु १५ सयदेखि दुई हजारसम्ममा खरिद गर्दै आएको छ ।
किसानले उत्पादन गरको बेसार बिक्रिका लागि बजारको समस्या नभएका कारण पनि किसानको बेसार खेतीमा आकर्षण बढेको हो । सहकारी संस्थाका सदस्यहरुको आम्दानीको स्रोत बढाउन सुरु गरिएको ‘बेसार खेती प्रवद्र्धन’ कार्यक्रमबाट किसानहरुमा आत्मनिर्भर बन्न सहयोग मिलेको किसान पविमाया मगरले बताउनुभयो । कम लगानीमा बढी उत्पादन हुने भएका कारण पनि किसाहरु बेसार खेतीप्रति आकर्षित भएको उहाँको भनाइ छ । सामान्यतया बीउको पाँच गुणा उत्पादन हुने गरेको उहाँको अनुभव छ । सामान्यतया एक मन बीउ रोप्दा पाँच मनसम्म उत्पादन हुने गर्दछ ।
इलाममा एक सय २३ हेक्टर क्षेत्रमा बेसार खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । बेसार खेती पनि नगदे बाली भएको र तत्कालै नबिग्रिने भएकाले किसानको आकर्षण बेसार खेतिप्रति बढेको कृषि ज्ञान केन्द्रका प्रमुख रविकिरण अधिकारीको भनाइ छ ।
बेसार प्रवर्द्धनमा वडा कार्यालयको योगदान
बेसारखेतीका लागि माङसेबुङ गाउँपालिका–१ नं। वडा कार्यालयको आर्थिक र प्राविधिक सहयोग रहदैँ आएको छ । माङसेबुङ–१ नं. वडा अध्यक्ष भूपाल योङहाङले सहकारी संस्थामार्फत बेसार खेतीको व्यावसायीकरणमा वडा कार्यालयको तर्फबाट प्रोत्साहन गर्दै आएको बताउनुभयो । वडाध्यक्ष योङहाङका अनुसार वडा कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा गजुरमुखी महिला बहुउद्देश्यीय सहकारी संस्थामार्फत साझेदारी मोडेलमा २८ जना किसानलाई अनुदानमा रु ७५ हजारको १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराएको थियो । आव २०८१/८२ मा पनि रु ७५ हजारको १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराएको वडा कार्यालयले आव २०८२/८३ मा भने रु एक लाखको २० क्विन्टल बेसारको बीउ उपलब्ध गराएको छ ।
सुरुमा २८ जना किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार क्रमशः अन्य किसानलाई समेत उपलब्ध गराएर ७२ जना किसानमा व्यावसायिक बेसार खेती विस्तार गरिएको वडाअध्यक्ष योङहाङले बताउनुभयो । ‘‘महिला सहकारी संस्थामार्फत सुरु भएको बेसार खेती प्रवद्र्धनका लागि वडा कार्यालयको तर्फबाट सक्नेजति सहयोग गर्दै आएका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘यसको व्यावसायीकरण तथा बजारीकरणका माध्यमले रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष हो ।’’ वडाबाट सहयोग पाइने भएकाले पनि यहाँका किसानहरु व्यावसायिक बेसार खेतीमा लागेका हुन् । वडा कार्यालयले तीन वर्ष पहिले उद्यमशीलता तथा बेसार खेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउ वितरण गरेको थियो । वडा कार्यालयबाट प्राप्त निरन्तर प्रोत्साहनले बेसार खेती प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको सहकारी संस्थाकी अध्यक्ष लुहागुनले बताउनुभयो ।
गाउँपालिकाको सहयोगमा प्रशोधन केन्द्र
यहाँका किसानले सुरु गरेको बेसार खेतीलाई व्यावसायिकतासँगै बजारीकरणका लागि ‘माङसेबुङको बेसार’ नामक आफ्नै ‘ब्राण्ड’सिहत माङसेबुङ गाउँपालिकाको सहयोगमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । आव २०८२/८३ मा ‘बेसार प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत माङसेबुङ गाउँपालिकाको रु छ लाख ७५ हजार (७० प्रतिशत) र सहकारी संस्थाको रु दुई लाख ८९ हजार (३० प्रतिशत) लागत साझेदारी गरी नौ लाख ६४ हजारको लागतमा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको सहकारी संस्थाकी अध्यक्ष लुहागुनले जानकारी दिनुभयो ।
प्रशोधन केन्द्रमार्फत अब यहाँका किसानले उत्पादन गरेको बेसार सफाइ, सुकाइ, पिसाइ तथा प्याकेजिङ गरी बजार पठाउन थालेको छ । सहकारी संस्थाले प्रशोधन केन्द्र स्थापना गरेपछि पहिलो पटक यस वर्ष १० क्विन्टल बेसार प्रशोधन गरी पाउडर बेसार उत्पादन र प्याकेजिङ गरेको थियो । सो पाउडर बेसार ‘माङसेबुङको बेसार’ प्रतिजेजी रु ९०० मा स्थानीय बजारमा पठाएको अध्यक्ष लुहागुनले बताउनुभयो । पाउडर बेसार बजारीकरणका लागि सबै पक्षको सहकार्य आवश्यकता रहेको उहाँले बताउनुभयो ।
पहिचानसँग जोडेर ‘ब्राण्डिङ’
माङसेबुङ क्षेत्रमा उत्पादन भएको बेसार गुणस्तरीय तथा अर्गानिक भएकाले त्यसलाई स्थानीय पहिचानसँग जोडेर ‘माङसेबुङको बेसार’ ब्राण्डिङ गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो । कृषिलाई व्यावसायिक र आयमुखी बनाउन गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम तर्जुमा गर्ने गरिएको उल्लेख गर्दै अध्यक्ष राईले आगामी दिनमा समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो ।
उहाँले बेसारको ब्राण्डिङ भएपछि स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पु¥याउन सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । ‘‘अब किसानले उत्पादन मात्र होइन, आफ्नै ब्राण्डमा बजार पाउने अवस्था बनेको छ,’ अध्यक्ष राईले, ‘यसले माङसेबुङको उत्पादनलाई राष्ट्रिय बजारसम्म पु¥याउन सहयोग मिल्ने विश्वास लिएका छौँ ।’’
बेसार विभिन्न जातका हुन्छन् । बेसार जिन्जिबेसरी परिवारको एक मन्दमुल हो । यसको वानस्पतिक नाम करक्यूमा लोगा हो । आज विश्वका सम्पूर्ण देशहरुमा यसको प्रयोग हुने गर्दछ । भारत, पाकिस्तान, हाइटी, चीन र पेरु बेसारका प्रमुख उत्पादक देश हुन् । बेसार मुख्यतया उष्ण हावापानीमा हुने कन्दमुल हो । समुन्द्र समहदेखि करिब १२०० मिटर उचाइसम्म यसको खेती गर्न सकिन्छ । यसको खेती सिँचित एवम् असिँचित हल्का कालोदेखि दोमट र रातो माटोमा गर्न सकिने भएपनि पानी नजम्ने बलौटे माटो यसका लागि उपयुक्त मानिन्छ । पिएच ५ दशमलव ५ देखि ६ दशमलव ५ उपयुक्त हुने यस बेसारलाई तुसारोले खासै असर गर्दैन ।
नेपालमा सदियौँदेखि ऋषिमुनिहरुले यसको प्रयोग एक औषधिका रुपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरुको पर्याप्त बयान पाइन्छ । यसको उत्पति दक्षिण पूर्वी एसियाका देशहरुबाट भएको पाइन्छ । बेसारमा पाइने प्रमुख तत्व कुरकुमिन हो, जसका कारण बेसार पहेँलो देखिन्छ । बेसारको गानोमा सरदर १ दशमलव ८ देखि ५ दशमलव ४५ करकुमिन पाइन्छ ।
बेसारलाई पछिल्लो सयम मुख्यगरी मसलाको रुपमा प्रयोग गर्ने गरिन्छ । यसले खानेकुरालाई आकर्षक रङ दिनुका साथै सुगन्धित बनाउने काम गर्छ । बेसारलाई औषधिको रुपमा समेत परापूर्षकालदेखि प्रयोग गरेको पाइन्छ । बेसारमा ब्याक्टेरिया र ढुसीजन्य रझगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता हुने भएकाले यसलाई दमका रोगी, कमलपित्तका बिरामी, छालाका रोगीहरुले बढी प्रयोग गरेको पाइन्छ । बेसारको प्रयोग खाद्य पदार्थमा मिलाउन, श्रृङ्गारका सामग्रीमा, विभिन्न खाद्य उद्योगहरुमा, प्राकृतिक रङको रुपमा एवम् समाजमा हुने विभिन्न धार्मिक कार्यमा प्रयोग हुँदै आएको पाइन्छ । रासस

























