देश/प्रदेश
संरक्षण पर्खाइमा ताप्लेजुङ सुरुम्खिमस्थित चमेरे गुफा

ताप्लेजुङ, असार ३०-
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमस्थित चमेरे गुफा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । हजारौँको सङ्ख्यामा चमेराको वासस्थान रहेको गुफा पर्यटकीय सम्भावना प्रशस्त भए पनि संरक्षण र प्रचारप्रसारको अभावमा गुमनाम छ ।
सुरुम्खिमको अमटार बस्ती नजिकै रहेको गुफामा वर्षौंदेखि चमेरा बस्दैआएको स्थानीय श्याम तामाङले बताउनुभयो । उहाँका अनुसार, दुई दशकअघि जति सङ्ख्यामा चमेरा देखिन्थे, अहिले पनि उही सङ्ख्यामा रहेको पाइन्छ । त्यस गुफाको प्रचारप्रसारसँगै संरक्षण हुनसके त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने स्थानीयको भनाइछ ।
स्थानीय तिलबहादुर तामाङका अनुसार केही वर्षअघिसम्म आन्तरिक पर्यटक गुफा अवलोकन गर्न पुग्थे । पछिल्लो समय गुफासम्म पुग्ने सहज बाटो नहुँदा त्यहाँ हेर्न जाने आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ ।
चमेरा पाइने गुफा नेपालमा सीमित भएकाले त्यस गुफाको संरक्षण गर्दै त्यस क्षेत्रमा पर्यटकको सुविधाका लागि सडक, होटललगायतका आवश्यक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।
वडाध्यक्ष लक्ष्मण तामाङले गुणस्तरीय सडकको पहुँच र अन्य पूर्वाधार निर्माणका लागि बजेट अभाव रहेकाले त्यसका लागि प्रदेश सरकारसँग छलफल भइरहेको बताउनुभयो ।
विज्ञका अनुसार स्तनधारी जीव चमेरो जैविक विविधता संरक्षण, परागसेचन तथा कीरा नियन्त्रणका दृष्टिले महत्वपूर्ण प्रजातिका रुपमा लिने गरिएको छ । चमेरोको प्राकृतिक वासस्थानको संरक्षण वातावरणीय सन्तुलनका लागि पनि आवश्यक मानिएको छ । रासस

























