देश/प्रदेश

‘परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु हुँदै

Banner

काठमाडौँ,असार ३० –

जलवायु न्याय र सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै फाउन्डेसन’ले ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु गर्ने भएको छ ।

फाउन्डेसनका अनुसार अन्तरपुस्ता महिलावादी मञ्चको सहकार्यमा धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यले यो अभियान सुरु गर्न लागिएको हो ।

फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीका अनुसार पछिल्ला वर्षमा बढ्दो उपभोक्तावादी संस्कृतिका कारण चाडपर्वमा आवश्यकभन्दा बढी किनमेल गर्ने, प्लास्टिक धेरै प्रयोग गर्ने र खाद्यान्न खेर फाल्ने प्रवृत्ति बढेको छ । यस्ता अभ्यासलाई कम गर्न अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार यस्ता गतिविधिले वातावरणसँगै महिलामाथि पनि प्रत्यक्ष असर पार्ने भएकाले अभियानले परम्परा र संस्कृतिको सम्मान गर्दै वातावरणमैत्री रूपमा चाडपर्व मनाउन प्रेरित गर्नेछ ।

फाउन्डेसनले चक्रिय अर्थतन्त्रलाई नेपालीको दैनिक जीवनशैलीमा स्थापित गर्ने लक्ष्य पनि राखेको छ । अभियानअन्तर्गत फाउन्डेसनले सन् २०२४ मा ‘ग्रीन तीज’ अभियान सञ्चालन गरेको थियो । त्यस अभियानमा सहभागी महिलाले हरित पर्व मनाउने पाँचबुँदे प्रतिबद्धता गरेका थिए ।

फाउन्डेसनले जलवायु परिवर्तनको असर कम गर्न नीतिगत सुधारसँगै व्यक्ति र समुदायको व्यवहार परिवर्तनमा पनि जोड दिँदै आएको छ । साथै खाद्यान्न सङ्कट न्यूनीकरण, लैङ्गिक समानता, जल र स्थलको जैविक विविधता संरक्षण तथा साझेदारी प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>