देश/प्रदेश
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम, असार ३० –
जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका साथ आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
उपमहानगरपालिको १५औँ नगरसभामा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगरप्रमुख मनोजकुमार साहले ‘स्वच्छ, सुशासित, समृद्ध पर्यटकीय तथा सांस्कृतिक जनकपुरधाम’को परिकल्पनालाई साकार पार्न पर्यटकीय पूर्वाधार विकासमा जोड दिने घोषणा गर्नुभयो ।
आगामी आर्थिक वर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्नुहुँदै नगरप्रमुख साहले अधुरा योजना सम्पन्न गरिने बताउनुभयो ।
यस्तै जनकपुरधाम उपमहानगरपालिकाले आगामी आवका लागि रु दुई अर्ब ६५ करोड २० लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ ।
नगरसभामा वडा नं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ रु एक अर्ब ४२ करोड ७७ लाख नौ हजार र पुँजीगततर्फ रु एक अर्ब २२ करोड २२ लाख ५३ हजार विनियोजन गरिएको छ ।
गरी रु दुई अर्ब ६५ करोड २० लाख ३२ हजारको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमा आर्थिक विकासतर्फ रु पाँच करोड ९४ लाख ५४ हजार ४०८ र सामाजिक विकासतर्फ रु ८३ करोड २८ लाख ९८ हजार सात सय ६२ विनियोजन गरिएको छ ।
पूर्वाधार विकासतर्फ रु ९१ करोड २२ लाख ७८ हजार आठ सय ३०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि रु ३१ करोड ७४ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ५३ करोड रकम विनियोजन गरेको वडाध्यक्ष पञ्जियारले जानकारी दिनुभयो । रासस

























