देश/प्रदेश
गाउ देखि शहर र टोल टोल मा विश्वकप फूटबलको माहोल, तर राष्ट्रिय रंगशालाको दयनीय अवस्था, (तस्बिरहरु)

काठमाडौँ, असार २९ –
विश्वभर अहिले फुटबल विश्वकपको माहोल तातेको छ। शहरदेखि गाउँसम्मका मैदान, फुटसल र चोक चोकमा फुटबलप्रेमीहरू फुटबलकै चर्चा र खेलमा व्यस्त देखिन्छन्। तर, नेपालको अन्तर्राष्ट्रिय स्तरको प्रमुख फुटबल मैदान दशरथ रंगशाला भने उचित व्यवस्थापन र नियमित मर्मत सम्भारको अभावमा दयनीय अवस्थामा पुगेको छ।
दशरथ रंगशालाको मैदान लामो घाँसले भरिएको छ भने दर्शक बस्ने कुर्सी र गोल पोस्टहरूमा समेत खिया लाग्न थालेको छ। नियमित सरसफाइ, संरक्षण र मर्मत–सम्भार नहुँदा नेपाली खेलकुदको धरोहर मानिने यो रंगशाला जीर्ण बन्दै गएको देखिन्छ।
गत असार ११ गते अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बनमा परेपछि तय भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हालका लागि स्थगित भएका छन्। तर, रंगशालाको दैनिक व्यवस्थापन, संरक्षण र मर्मत सम्भारको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भएकाले प्रतियोगिता नहुँदैमा मैदानलाई बेवास्ता गर्न नहुने खेलप्रेमीहरूको भनाइ छ।दशरथ रंगशालामा पछिल्लोपटक सन् २०२५ फेब्रुअरी २६ मा सम्पन्न चार राष्ट्र सहभागी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। त्यसयता यहाँ कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन सकेको छैन।
विश्वभर फुटबलप्रति उत्साह बढिरहेका बेला नेपालको प्रमुख अन्तर्राष्ट्रिय रंगशालाको यस्तो अवस्था चिन्ताजनक बनेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता नहुँदा पनि रंगशालाको नियमित मर्मत, घाँस व्यवस्थापन, सरसफाइ र पूर्वाधार संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। तस्बिरहरु( नेपाल फोटो लाइब्रेरी






































