अन्तर्राष्ट्रिय
इरानद्वारा एकैपटक ६ देशमाथि हमला

काठमाडौं,असार २८-
इरानले पश्चिम एसियाका ६ वटा देशमाथि एकैपटक हमला गरेको छ । अमेरिकी हमलाको जवाफी कारबाही भन्दै इरानले आइतबार खाडीका ६ वटा देशमाथि हमला गरेको हो । इरानले जोर्डन, कुवेत, कतार, बहराइन, यूएई र ओमानमा रहेका अमेरिकी सैन्य अड्डाहरू र रणनीतिक स्थानलाई लक्षित गरी हमला गरेको उल्लेख गरेको छ ।
यसअघि अमेरिकाले इरानका करिब १४० सैन्य अड्डामाथि बमबारी गरेको जनाएको थियो । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार यो बमबारी होर्मुज स्ट्रेटमा साइप्रसको झण्डा रहेको कन्टेनर जहाजमाथि इरानी हमलापछि गरेको अमेरिकाको भनाइ छ । इरानी हमलामा उक्त जहाजमा आगो लाग्नुका साथै इन्जिन क्षतिग्रस्त बनेको छ भने चालक दलका सदस्य समेत हराइरहेका छन् ।
त्यसपछि इरानले जोर्डनको प्रिन्स हसन एयरबेस, कुवेतमा अमेरिकी प्याट्रियट एयर डिफेन्स सिस्टम र राडार साइट, बहराइनमा अमेरिकी सैन्य सञ्चार केन्द्र र कतार तथा युएईमामा पनि मिसाइल र ड्रोन हमला गरेको हो । योसँगै इरानले अर्को आदेश नआएसम्म होर्मुज बन्द गर्ने घोषणा गरेको छ । साथै यो आदेशको पालना नगरेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
इरानका सर्वोच्च नेताका सल्लाहकार मोहसिन रेजाईले होर्मुज स्ट्रेट इरानका लागि रणनीतिक रोकथामको हतियार भएको भन्दै आफ्नो देशले रक्षा क्षमता र राष्ट्रिय शक्तिको प्रयोग गरी हित तथा सुरक्षा गर्ने समेत बताएका छन् ।



























