देश/प्रदेश
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची, असार २८-
पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण गरिएको छ । करिब समुद्री सतहबाट करिब एक हजार ७०० मिटर उचाइमा पर्ने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेकाले पर्यावरणीय सन्तुलन कायम गर्न तथा वन्यजन्तुको सहजताका लागि पोखरी निर्माण गरिएको हो ।
वनको बीचमा ढुङ्गाको बाँध निर्माण गरी तयार गरिएको बहुउपयोगी रिचार्ज पोखरीले जलस्रोत संरक्षण, पर्यावरणीय सन्तुलन कायम गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा जलस्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै उक्त पोखरी निर्माण गरेको हो ।
वन क्षेत्रभित्र वर्षायाममा खेर जाने पानीलाई सङ्कलन गरी भूमिगत रूपमा पुनःरिचार्ज गर्ने उद्देश्यले निर्माण गरिएको यो संरचनाले यस क्षेत्रका प्राकृतिक मुहानलाई दीर्घकालसम्म संरक्षण गर्न सहयोग पुग्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले विश्वास व्यक्त गर्नुभयो ।
उक्त रिचार्ज पोखरीभन्दा करिब ५०० मिटर तल वनक्षेत्रमा सात वटा प्राकृतिक पानीका मुहान पनि छन् । ती मुहानबाट स्थानीय बासिन्दाले पिउन तथा अन्य दैनिक प्रयोजनका लागि पानी प्रयोग गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा वर्षा अनियमित हुने तथा पुरानो प्राकृतिक दह सुक्दै गएपछि ती मुहानमा पानीको मात्रा क्रमशः घट्न थालेको छ ।
स्थानीयवासीले पानीका स्रोत सुक्दै गएको गुनासो गरेपछि डिभिजन वन कार्यालयले सोही स्थानमा वर्षभरि पानी रहने गरी नमूना रिचार्ज पोखरी निर्माण गरेको जनाएको छ ।
सूचना अधिकारी खड्काका अनुसार गहुँखर्कको उक्त स्थान विगतमा प्राकृतिक दहका रूपमा परिचित थियो । “समयक्रममा दह पुरिँदै र सुक्दै गएपछि यसबाट पुनर्भरण हुने भूमिगत जलको मात्रा घट्न पुग्यो । परिणामस्वरूप दहमुनि रहेका सातवटै प्राकृतिक मुहानमा पानीको बहाव कम हुँदै गयो । यही अवस्थालाई मध्यनजर गर्दै वर्षायाममा सङ्कलित पानीलाई भूमिगत रूपमा पुनः रिचार्ज गराउने उद्देश्यले पोखरी निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।
यस संरचनाको मुख्य उद्देश्य सात वटा प्राकृतिक मुहानको दीर्घकालीन संरक्षण गर्नु रहेको सूचना अधिकारी खड्काले बताउनुभयो । वर्षायाममा पोखरीमा सङ्कलित पानी विस्तारै जमिनभित्र सोसिएर भूमिगत जल भण्डार बढाउने भएकाले मुहानहरूमा वर्षभरि पानीको मात्रा कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
कार्यालयका अनुसार रिचार्ज पोखरी स्थानीय बासिन्दाका लागि मात्र नभई वन्यजन्तुका लागि पनि उपयोगी बन्नेछ । विशेषगरी सुख्खा मौसममा वन्यजन्तुले पानीको अभाव झेल्नुपर्ने समस्या न्यूनीकरण गर्न पोखरीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । वन क्षेत्रमा पानीको उपलब्धता बढेपछि वन्यजन्तु मानव बस्तीमा पानीको खोजीमा आउने सम्भावना पनि घट्ने अपेक्षा गरिएको छ ।
वन क्षेत्रमा पानीको स्रोत संरक्षणसँगै जैविक विविधता जोगाउन पनि यस्ता संरचना प्रभावकारी हुने डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्काले बताउनुभयो । पानी उपलब्ध हुँदा वनस्पति, चराचुरुङ्गी तथा अन्य वन्यजन्तुको बासस्थान सुरक्षित रहने र सम्पूर्ण पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।
डिभिजन वन कार्यालयले जलस्रोत संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणलाई लक्षित गर्दै यस आर्थिक वर्षमा जिल्लाका विभिन्न वन क्षेत्रमा यस्तै प्रकृतिका आठ वटा रिचार्ज पोखरी निर्माण सम्पन्न गरेको जनाएको छ । त्यसबाहेक वन डढेलोको जोखिम भएका वन क्षेत्रमा आगलागी नियन्त्रणका क्रममा पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले थप सात वटा पानीपोखरी निर्माण गरिएका छन् ।
यसरी हेर्दा चालु आर्थिक वर्षमा कार्यालयले सामुदायिक वन उपभोक्ता समूह तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा विभिन्न प्रकृतिका १५ वटा पोखरी निर्माण सम्पन्न गरेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।
वन क्षेत्रमा निर्माण गरिएका यस्ता संरचनाले वर्षाको पानी संरक्षण गर्दै भूमिगत जल पुनर्भरणमा सहयोग गर्ने, प्राकृतिक मुहानलाई पुनर्जीवित बनाउने, वन डढेलो नियन्त्रणका लागि आवश्यक पानी उपलब्ध गराउने तथा वन्यजन्तुको संरक्षणमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
डिभिजन वन कार्यालयले आगामी वर्षहरूमा पनि जलस्रोत संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा जलवायु परिवर्तन अनुकूलनलाई प्राथमिकतामा राख्दै यस्ता प्रकृतिमैत्री संरचनाको निर्माणलाई निरन्तरता दिने जनाएको छ । वन क्षेत्रभित्र निर्माण गरिएका रिचार्ज पोखरीले स्थानीय समुदाय, वन्यजन्तु र समग्र पर्यावरणलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास कार्यालयको छ । रासस



























