देश/प्रदेश

सुरुङ सञ्चालनअघि मर्निङ वाक गर्नेहरूको रोजाइ बन्यो नागढुंगा–सिस्नेखोला लिंक रोड

Banner

काठमाडौं,असार २८-

नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको समयमा मर्निङ वाक गर्ने सर्वसाधारणको आकर्षक गन्तव्य बनेको छ। सुरुङमार्ग अझै नियमित सञ्चालनमा नआएकाले सवारीसाधनको चाप न्यून हुँदा फराकिलो र सफा सडकमा दैनिक सयौं स्थानीय तथा विभिन्न क्षेत्रबाट आउने सर्वसाधारण शारीरिक व्यायाम र हिँडडुलका लागि पुग्ने गरेका छन्।

बिहान सबेरैदेखि नै लिंक रोडमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थिति देख्न सकिन्छ। कसैले दौडिने, कसैले छिटो हिँड्ने ९ब्रिस्क वाक० गर्ने तथा कसैले समूहमा सामान्य व्यायाम गर्ने गरेका छन्। खुला वातावरण, कम सवारी आवागमन र व्यवस्थित सडक संरचनाका कारण यो क्षेत्र बिहानको समयमा सुरक्षित र सहज मर्निङ वाक स्थलका रूपमा स्थापित हुँदै गएको स्थानीय बताउँछन्।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रवेशद्वारसम्म पुग्ने यस लिंक रोडको मुख्य उद्देश्य सुरुङमार्गलाई त्रिभुवन राजपथ अन्तर्गतको कलंकी–नागढुंगा सडकसँग जोडेर सवारी आवागमनलाई सहज बनाउनु हो। सुरुङमार्ग सञ्चालनमा आएपछि यही सडकमार्फत सवारीसाधन सुरुङभित्र प्रवेश र बाहिरिने व्यवस्था हुनेछ।

हाल सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेको अवस्थामा लिंक रोडमा नियमित सार्वजनिक सवारी सञ्चालन सुरु भएको छैन। यही कारण बिहानको समयमा सडक तुलनात्मक रूपमा शान्त रहने भएकाले सर्वसाधारणले यसलाई स्वास्थ्य प्रवर्द्धनका गतिविधिका लागि उपयोग गर्न थालेका छन्।

स्थानीयका अनुसार राजधानीमा खुला र सुरक्षित रूपमा हिँडडुल गर्न सकिने स्थान सीमित हुँदै गइरहेका बेला फराकिलो सडक, स्वच्छ वातावरण र कम सवारी चापका कारण यो क्षेत्र मर्निङ वाकका लागि उपयुक्त विकल्प बनेको हो। विशेषगरी बिहानको चिसो मौसममा यहाँ आउनेको संख्या दिनप्रतिदिन बढिरहेको देखिन्छ।

सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि भने यस सडकमा सवारीसाधनको चाप उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। त्यसपछि अहिलेजस्तो सहज रूपमा मर्निङ वाक गर्न सम्भव नहुने भएकाले धेरैले सुरुङ सञ्चालनअघि नै यस अवसरको उपयोग गरिरहेका छन्।

नेपालकै पहिलो सडक सुरुङका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको आवागमन थप सहज, सुरक्षित र समय बचत हुने विश्वास गरिएको छ। हालका लागि भने सुरुङमार्गसँग जोडिएको यो फराकिलो लिंक रोड बिहानको समयमा स्वास्थ्यप्रेमी सर्वसाधारणका लागि व्यायाम र मर्निङ वाक गर्ने उपयुक्त खुला स्थल बनेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>