देश/प्रदेश

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’

Banner

गोरखा, असार २७-

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताउनुभएको छ । गोरखाको शहीद लखन गाउँपालिका-१ र गोरखा नगरपालिका-१२ जोड्ने लुदीखोला मोटरवेल पुलको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्धारित समयमा विकास निर्माणका आयोजना सम्पन्न हुनु सुशासनको पहिलो जग भएको बताउनुभयो ।

गोरखाको रणनीतिक ग्रामीण सडकखण्डको रुपमा रहेको स्याउली बजार-भट्ट फाँट-मनकामना सडकखण्डमा नवनिर्मित मोटरेवल पुल निर्माण सुरु भएको आठ महिनाभित्रै काम सक्नुले पनि सकारात्मक सन्देश दिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ । “विकास निर्माणका आयोजनाहरू वर्षौं अलपत्र पर्ने परिपाटीका बीच निर्धारित समय अघि काम सम्पन्न हुनु निर्माण व्यवसायी, पूर्वाधार विकास कार्यालय, प्राविधिक टोली तथा सबै पक्षको प्रतिबद्धता, समन्वय र कार्यक्षमताको उत्कृष्ट उदाहारण हो”, उहाँले भन्नुभयो, “वर्तमान प्रदेश सरकारको सुशासन र विकासप्रतिको प्रतिबद्धता पनि यहीँ हो ।”

पूर्वाधार विकास कार्यालय गोरखासँग विसं २०८२ असारमा पुल निर्माणको ठेक्का सम्झौता भएर असोजदेखि काम सुरु भएको थियो । कार्यालयले पुल निर्माणका लागि गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड विल्डर्स प्रालिसँग रु सात करोड ५१ लाख ३० हजार ८५९ मा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

नवनिर्मित पुल कुल ६० मिटर लम्बाइको छ । ठेकेदार कम्पनीले निर्माण अवधि सकिनुभन्दा १२ महिना अघि सम्पन गरेको हो । पुल निर्माण सम्पन्न भएसँगै गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सहज भएको छ । पुल नहुँदामा हिउँदमा मात्र जसोतसो गाडी चल्ने उक्त सडकखण्डमा अब बाह्रै महिना निर्वाधरुपमा सवारी साधन सञ्चालन हुने अवस्था बनेको स्थानीयबासीको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>