Uncategorized
विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा, असार २७-
बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई रु दुई करोड ४७ लाख १२ हजार ३१० बराबरका उद्धार सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली सेनालाई रु ७५ लाख ६२ हजार ३००, नेपाल प्रहरीलाई रु ५४ लाख ६६ हजार ४८८ र सशस्त्र प्रहरी बललाई रु एक करोड १६ लाख ८३ हजार ५२२ बराबरका विपद् पूर्वतयारीका सामग्री उपलब्ध गराउनुभयो । हस्तान्तरण गरिएका सामग्रीमा अत्याधुनिक ड्रोन तथा बाढीबाट उद्धारका लागि आवश्यक उपकरण समावेश छन् ।
यसअघि मुख्यमन्त्री बानियाँले वर्षाजन्य तथा अन्य विपद्को पूर्वतयारी, राहत सामग्री व्यवस्थापन र सुरक्षा संयन्त्रको उच्च सतर्कताबारे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।
सो अवसरमा उहाँले वर्षा सुरु भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद् पूर्वतयारीलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले विगतका विपद्बाट प्राप्त अनुभवका आधारमा सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणालीको समन्वय र सुदृढीकरण तथा उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले प्रदेशभरका सम्भावित बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अध्ययन भइरहेको जानकारी दिँदै विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। प्रदेशभित्रका गाउँपालिका र नगरपालिकाबीच सूचना आदानप्रदानलाई व्यवस्थित बनाइने पनि उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारले नुवाकोट र हेटौँडा उपमहानगरपालिकाको थानाभ¥याङमा विपद् व्यवस्थापनका लागि आवश्यक राहत सामग्री तथा उपकरण भण्डारण गरिएको जनाएको छ । रासस



























