देश/प्रदेश
बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगञ्ज, असार २६-
चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार अहिलेसम्म सात हजार ६५४ दशमलव सात मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ ।
वितरण गरिएका रासायनिक मलमध्ये सबैभन्दा बढी युरिया चार हजार ८१९ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार ६२८ दशमलव ४५० मेट्रिक टन र पोटास २०६ दशमलव ६५० मेट्रिक टन रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जले जनाएको छ ।
कम्पनीमा अझै पनि ३५६ दशमलव १०० मेट्रिक टन युरिया, १०५ दशमलव ६५० मेट्रिक टन डिएपी र १४ दशमलव ८३० मेट्रिक टन पोटास मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेमा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा रासायनिक मलको माग कम रहेको उहाँले बताउनुभयो ।
किसानले युरिया रासायनिक मल खेतीमा प्रयोग गर्ने बेला नभएपनि पछि नपाउने डरले सबैभन्दा बढी माग युरियाको गरेको जानकारी दिँदै प्रमुख श्रेष्ठले रासायनिक मल आउने क्रम जारी रहेको र वितरण कार्य पनि भइरहेको उल्लेख गर्नुभयो ।
“धानको रोपाइँ सकिएको करिब २५ दिनमा युरिया छर्ने हो तर किसानले पछि नपाइने हो कि भनेर माग गरिरहनुभएको छ ”, उहाँले भन्नुभयो । साउनभर रासायनिक मलको वितरण हुने जानकारी दिँदै प्रमुख श्रेष्ठले गत वर्षभन्दा सहज ढङ्गले मलको आपूर्ति हुने किसानलाई विश्वास दिलाउनुभयो ।
उहाँले यस वर्ष धान रोपाइँको सिजनमा भदौसम्मका लागि अझै पनि चार हजार मेट्रिक टन युरिया, दुई हजार ५०० मेट्रिक टन डिएपी र केही मेट्रिक टन पोटास रासायनिक मलको माग भएको जानकारी दिनुभयो ।
आठ स्थानीय तहको जिल्लाका सबै पालिकामा कृषि सहकारीमार्फत रासायनिक मलको वितरण भइरहेको छ ।
अहिले जिल्लाका केही स्थानमा रोपाइँ सकिएको छ भने केहीमा रोपाइँ नभएको राप्तीसोनारी गाउँपालिका–४ धामपुरका किशोर रत्गैया थारुले बताउनुभयो ।
४४ प्रतिशत रोपाइँ
बाँकेमा अहिलेसम्म ४४ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
ज्ञान केन्द्रले आज सार्वजनकि सूचना जारी गर्दै ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये १४ हजार ८६३ दशमलव दुई क्षेत्रफल जमिनमा धान रोपाइँ भएको उल्लेख गरेको छ ।
जिल्लाको सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुजिता शर्माले जानकारी दिनुभयो । विसं २०७८ मा भएको कृषि गणनाअनुसार बाँकेमा ६७ हजार ८८५ कृषक रहेका छन् । रासस



























