देश/प्रदेश
फापरखेतीमा अग्रसर माङ्सेबुङका किसान

रामकुमार लिम्बू ,
फिक्कल (इलाम),असार २६-
इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङका किसान पृथीमान जबेगुले गत वर्ष ३० रोपनी क्षेत्रफलमा रैथाने बाली फापरको खेती गर्नुभयो । पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यावसायिक खेती सुरु गर्नुभएका उहाँले पहिलो वर्षमै उत्साहजनक उत्पादन हासिल गर्नुभयो ।
कम मेहनत र कम लागतमा नै राम्रो उत्पादन हुने भएकाले फापरखेतीले उहाँलाई निकै प्रभावित बनायो । पहिलो वर्षको सफलतापछि उहाँले अब फापरको व्यावसायिक खेतीलाई थप विस्तार गर्ने योजना बनाउनुभएको छ । “मैले गत वर्ष पहिलो पटक ३० रोपनी क्षेत्रफलमा फापरको खेती लगाएको थिएँ । उत्पादन पनि सोचेअनुसार नै भयो”, जबेगुले भन्नुभयो, “करिब ५० केजी बीउ प्रयोग गर्दा छ क्विन्टल फापर उत्पादन भयो ।”
उहाँका अनसार उत्पादन भएको फापरबाट राम्रो आम्दानीसमेत भएको छ । बजारमा फापरको माग उच्च रहेकाले अधिकांश उत्पादन घरैबाट बिक्री भएको उहाँले बताउनुभयो । घरैबाट प्रतिकेजी रु २०० देखि रु ३०० का दरले फापर बिक्री भएको उहाँले बताउनुभयो । “फापरको माग निकै रहेछ । घरमै आएर प्रतिकेजी रु २०० देखि रु ३०० का दरले किनेर लैजानुहुन्थ्यो । उत्पादन पर्याप्त नभएकाले माग पूरा गर्न सकिन”, उहाँले भन्नुभयो, “त्यसैले अब आगामी वर्षदेखि खेतीको क्षेत्रफल बढाएर व्यावसायिक रुपमा फापर खेती गर्ने योजना बनाएको छु ।”
गत वर्षको अनुभवपछि उहाँले यस वर्ष पनि सोही क्षेत्रफलमा फापरखेती गर्ने तयारी गर्नुभएको छ । त्यसका लागि आवश्यक जग्गा व्यवस्थापन, मलखाद तथा बीउको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । “गत वर्ष पहिलोपटक फापरखेती गरेको थिएँ । पहिलो अनुभवमै राम्रो उत्पादन र आम्दानी भएपछि यसप्रति मेरो आकर्षण बढेको छ”, उहाँले भन्नुभयो, “यस वर्षदेखि फापरलाई व्यावसायिक रुपमा विस्तार गर्ने योजना बनाएको छु । त्यसका लागि आवश्यक सबै तयारी गरिरहेको छु ।”
प्रभावकारी फापर खेती प्रवर्द्धन कार्यक्रम
जबेगुको फापर खेतीप्रतिको आकर्षण बढाउन माङ्सेबुङ गाउँपालिकाको महत्वपूर्ण योगदान छ । आर्थिक वर्ष २०८१/८२ मा माङ्सेबुङ गाउँपालिकाले सञ्चालन गरेको ‘फापरखेती प्रवर्द्धन कार्यक्रम’अन्तर्गत उहाँले ५० प्रतिशत लागत साझेदारीमा रु छ लाख बराबरको कार्यक्रममा सहभागिता जनाउनुभयो ।
कार्यक्रम अनुसार कुल रु छ लाखमध्ये रु तीन लाख माङ्सेबुङ गाउँपालिकाले अनुदान उपलब्ध गराएको थियो भने बाँकी रु तीन लाख जबेगुले आफ्नै लगानी गर्नुभएको थियो ।
गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगले उहाँलाई फापरको व्यावसायिक खेती गर्न थप हौसला मिलेको उहाँ बताउनुहुन्छ । “गाउँपालिकाको अनुदान र प्राविधिक सहयोगले मलाई फापरको व्यावसायिक खेती गर्न थप हौसला मिलेको छ”, उहाँले भन्नुभयो, “पहिलो वर्षमै राम्रो उत्पादन र आम्दानी भएपछि फापरखेतीप्रति मेरो विश्वास अझै बढेको छ । अब खेतीको क्षेत्रफल विस्तार गरेर यसलाई व्यावसायिक रुपमा अघि बढाउने योनजा बनाएको छु ।”
जबेगु मात्र होइन, माङ्सेबुङका अन्य किसानसमेत व्यावसायिक फापरखेतीतर्फ आकर्षित भएका छन् । यहाँका किसानले व्यक्तिगत एवं सामूहिक रुपमा फापरखेती सुरु गरेका छन् । माङ्सेबुङ गाउँपालिका–३ का देउकुमार इधिङ्गोले २० रोपनी क्षेत्रमा फापरखेती गर्दै आउनुभएको छ । उहाँले ‘इधिङ्गो कृषि तथा पशुपालन फार्म’मार्फत अन्य कृषि र पशुपालन व्यवसायसँगै फापरखेती गर्दै आउनुभएको छ । फापर तीते र मीठे गरी दुई प्रजातिको रहेको पाइन्छ ।
व्यावसायिक फापरखेती गर्ने किसानलाई माङ्सेबुङ गाउँपालिकाले पनि राम्रै सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०८२र८३ को ‘फापरखेती प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा इधिङ्गो फार्मलाई उपकरण तथा मेसिनरी खरिद गर्नका लागि रु चार लाखको कार्यक्रम उपलब्ध गराएको छ ।
कार्यक्रम अनुसार कुल रु चार लाखमध्ये रु दुई लाख माङ्सेबुङ गाउँपापलिकाले अनुदान उपलब्ध गराएको छ भने बाँकी रु दुई लाख इधिङ्गोले आफ्नै लगानी गर्नुभएको छ । रैथाने बाली प्रवर्द्धनका लागि गाउँपालिकाबाट ५० प्रतिशत अनुदान पाएपछि इधिङ्गोसमेत खुसी हुनुहुन्छ । “हाम्रो दुःख र आवश्यकतालाई बुझेर माङ्सेबुङ गाउँपालिकाले कृषि उपकरण तथा मेसिनरी खरिदका लागि रु दुई लाख अनुदान उपलब्ध गराएको छ”, इधिङ्गोले भन्नुभयो, “यस्ता अनुदान र प्रोत्साहनका कार्यक्रमले हामीजस्ता किसानलाई व्यावसायिक कृषिकर्ममा लाग्न थप हौसला र आत्मविश्वास मिलेको छ ।”
माङ्सेबुङका किसान व्यक्तिगत रुपमा मात्र होइन, सामूहिक रुपमा फापरखेतीमा आकर्षित भएका छन् । माङ्सेबुङ गाउँपालिका–५ का किसान सहकारी संस्थामार्फत सामूहिक फापरखेतीमा लाग्नुभएको छ । यहाँका किसान ‘माङ्सेबुङ बहुउद्देश्यीय सहकारी संस्था’मार्फत सामूहिक फापरखेतीमा लाग्नुभएको हो । सहकारी संस्थामार्फत ५० रोपनी क्षेत्रफलमा फापरखेती हुँदै आएको संस्थाका अध्यक्ष दूधबहादुर लावतीले बताउनुभयो । “हामीले सामूहिक खेती प्रणालीअन्तर्गत सहकारी संस्थामार्फत ५० रोपनी क्षेत्रफलमा फापरखेती गर्दै आएका छौँ”, अध्यक्ष लावतीले भन्नुभयो, “यसको उत्पादन र क्षेत्रफल दुवै बढाउँदै आगामी वर्षदेखि फापर खेतीलाई अझ विस्तार गर्दै लैजाने योजनामा छौँ ।”
उहाँहरुको सामूहिक फापरखेतीलाई माङ्सेबुङ गाउँपालिकाले प्रवर्द्धन गरेको छ । आव २०८२/८३ को ‘फापरखेती प्रवर्द्धन कार्यक्रम’अन्तर्गत माङ्सेबुङ गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा सो सहकारी संस्थालाई रु आठ लाखको कार्यक्रम उपलब्ध गराएको छ । कुल रु आठ लाखमध्ये रु चार लाख माङ्सेबुङ गाउँपालकाले अनुदान उपलब्ध गराएको छ भने बाँकी रु चार लाख सहकारी संस्थाले साझेदारी गरेको छ । कार्यक्रमअन्तर्गत उपकरण तथा मेसिनरी खरिद एवं बीउ र मलखादको व्यवस्थापनलगायत क्रियाकलाप सञ्चालन गरिएको संस्थाका अध्यक्ष लावतीले बताउनुभयो ।
गाउँपालिकाले किसानलाई फापरखेती प्रवर्द्धनका लागि दिएको अनुदानले किसानसमेत उत्साहित भएका छन् । कृषि क्षेत्रमा दिएको प्रोत्साहन कार्यक्रमले किसानलाई व्यावसायिक बन्न उत्प्रेरणा जगाएको छ । माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका अघि बढेको बताउनुभयो । “कृषि क्षेत्रमा प्रशस्त सम्भावना रहेको माङ्सेबुङमा कृषि क्षेत्रलाई नै प्राथमिकता राखेर अघि बढेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा छन् । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै निरन्तरता दिनेछौँ ।”
बजारको अभाव छैन
नेपालमा फापरको कुनै निश्चित र आधिकारिक बजारको व्यवस्था छैन । तर पनि मानिसमा आउने गरेको स्वास्थ्य समस्याका कारण फापरको बजार बढ्दो देखिन्छ । उत्पादकले फापर स्थानीय बजार र केही ठूला बजारमा बिक्री गर्ने गर्छन् । माङ्सेबुङका किसानलाई फापर बिक्रीको कुनै समस्या छैन ।
फापरबाट विभिन्न बहुउपयोगी परिकार बन्ने भएकाले यसको बजार सहज रहेको माङ्सेबुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लावतीले बताउनुभयो । “फापर बिक्रीका लागि यहाँ कुनै समस्या छैन, बजारमा माग धान्न सकिरहेका छैनौँ”, लावतीले भन्नुभयो ।
पछिल्लो समय हराउन लागेको फापरखेतीलाई जोगाउन किसान व्यावसायिक फापरखेतीमा लाग्नुपर्ने स्वयं किसान नै बताउँछन् । निकै महत्वपूर्ण खाद्यान्न भएकाले फापरको संरक्षणमा सबै लाग्नुपर्ने माङ्सेबुङ–३ का किसान कृष्ण बूढाथोकी बताउनुहुन्छ । “हामी सानै हुँदा गाउँघरमा फापरको प्रशस्त खेती हुन्थ्यो । आजकल क्रमशः कम हुँदै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “रैथानेबाली फापरको संरक्षण र प्रवर्द्धनमा सबैको साझा पहल आवश्यक छ । त्यसका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकाले स्पष्ट नीति बनाएर पकेट क्षेत्र विकास, उत्पादन प्रवर्द्धन र बजारीकरणसँग जोडिएका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”
पोषणयुक्त खाद्यान्नबाली
फापरलाई निकै लोकप्रिय खाद्यबालीका रुपमा लिइन्छ । स्वास्थ्यला(खाना) को रुपमा, मुन्टा (कमलो काण्ड र पात) लाई साग तरकारीका रुपमा, पिठोबाट रोटी, ढिँडो, च्याख्लालाई जाँड, रक्सी आदि बनाएर खाने गरिन्छ । फापरको पिठोबाट चाउचाउ, केक, बिस्कुट, कुकिज, पाउरोटी, मम, सुप, सेलरोटी, हलुवा, प्यान केक आदि बनाएर खाने चलन छ ।
फापर पोषणयुक्त खाद्यान्न हो । फापरमा २४ भन्दाबढी प्रकारका पौष्टिक तत्व पाइन्छ । फापरमा प्रशस्तमात्रामा पाइने म्याग्नेसियम शरीरलाई स्वस्थ राख्न उपयोगी मानिन्छ । फापरमा प्रशस्त मात्रामा रेसादार तत्व, भिटामिन बी १, बी २ र बी ६, प्रोटिन, खनिज पाइन्छ । शाकाहारीका लागि फापर प्रोटिनको स्रोत हो । फापर मधुमेह नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ । फापर मिनरल, भिटामिनको राम्रो स्रोत मानिन्छ । साथै कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र प्रोटिन पनि पाइन्छ । त्यसैले फापरलाई औषधिका रुपमा पनि बढी महत्व दिने गरेको पाइन्छ ।
फापरमा औषधीय गुण भएकाले यसको बजारमा माग बढ्दो छ । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास रहेको क्षेत्र ‘शाकाहारी गाउँ’ माङ्सेबुङ गाउँपालिकामा नै पर्ने भएकाले पनि अधिकांश फापर त्यही खपत हुने गरेको अध्यक्ष लावतीको भनाइ छ । यसका साथै झापाको दमक, विर्तामोडलगायत बजारमा व्यापारीमार्फत माङ्सेबुङको फापर बिक्री हुने गरेको छ । माङ्सेबुङ गाउँपालिकामा फापर उत्पादन हुने कुनै यकीन तथ्याङ्कसहितको दस्तावेज छैन । यद्यपि, व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि गरी बढीमा पाँच मेट्रिकटनसम्म फापर उत्पादन हुँदै आएको माङ्सेबुङ गाउँपालिका कृषि विकास शाखाकी नायब पशु प्राविधिक राईले जानकारी दिनुभयो ।
नेपालमा फापरखेती प्राचीनकालदेखि गरिँदै आएको बाली हो । विशेषगरी हिमाली र पहाडी भेगमा उत्पादन हुने रैथाने बाली फापर पोषणयुक्त खाद्यान्न हो । यसलाई भौगोलिक स्थानअनुसार ग्रीष्म, हिउँदे, शरद् र बसन्ते बालीका रुपमा खेती गरिँदै आएको छ । फापरलाई ठण्डा र आद्र हावापानी फाप्दछ तर पनि अलि बढी न्यानो तापक्रममा पनि खेती गर्न सकिन्छ । हिउँ र तुषारोलाई छलेर खेती गर्न सकेमा निकै उचाइमा फापरखेती गर्न सकिन्छ । नेपालमा दुई हजार १०० मिटरभन्दा माथिको भागमा फापर बढीमात्रामा खेती गरेको पाइन्छ ।
खेती प्रविधि र बीउको संरक्षण
फापरको खेती निकासयुक्त बलौटे दुमट तथा पाँगो दुमट माटोमा राम्रो मानिन्छ । पानी जम्ने ठाउँमा यसको खेती गर्न सकिँदैन । अन्य बालीजस्तो यो बालीलाई धेरै मलिलो माटो पनि चाँहिदैन । धेरै मलिलो माटोमा फापर लगाउँदा पछि बाली ढल्छ । चिम्ट्याइलो माटोमा फापरको उम्रने शक्तिमा असर पर्ने हुँदा अङ्कुरण एकैनासको हुँदैन । फपेर्ले माटोमा अमलियपन सहन सक्छ । यसका लागि ५–६ पी एच उपयुक्त मानिन्छ । यसका लागि जमिनलाई १–२ पटक हलो वा ट्याक्टरले जोतेर डल्ला फोरी झारपातहरु हटाउनुपर्छ । रोप्ने समयमा माटोमा चिस्यान हुनुपर्छ । जमिनको राम्रो तयारी भएमा एक नासले फापर उम्रन्छ र बोटको उपयुक्त घनत्व कायम हुन्छ ।
फापरखेतीका लागि गोठेमल वा कम्पोष्ट मल उपयुक्त मानिन्छ । पापर रोप्नुभन्दा १५–३० दिन अगाडि राम्रोसँग पाकेको मल १००–१५० केजी प्रतिहेक्टरको दरले माटोमा एक नासले पर्ने गरेर तुरुन्तै माटोमा जोतेर वा खनेर मिलाउनु पर्दछ । फापर खाद्यान्न वा बीउ उत्पादनको निम्ति खेती गर्दा तराई भेगमा कात्तिकमा, मध्य पहाडमा भदौ र फागुन गरी दुई समयमा र उच्च पहाडमा वैशाखमा खेती गर्न सकिन्छ । बीउ टिप्नेबित्तिकै पनि उम्रने हुँदा तरकारी र सागको लागि हिउँ, तुसारो तथा अतिचिसो समय छलेर अन्य जुनसुकै बेलामा लगाउन सकिन्छ । बीउका लागि एक वर्षभन्दा पुरानो बीउ हुनुहुँदैन । बीउका लागि खोस्टासहितको दानालाई घाममा सुकाएर एक वर्षसम्म साधारण घरमा राख्न सकिन्छ । दानालाई माटोको भाँडामा, माटोले लिपेको काठ वा बाँसको भाडामा, टिनमा, काठको बाकसमा वा थैलोमा राख्न सकिन्छ ।
पोषणयुक्त रैथानेबाली फापरको संरक्षमा भने निकै चुनौती रहेको किसान बताउँछन् । अन्य नगदेबालीभन्दा कम उत्पादन हुने र बोक्रा निकाल्न गाह्रो हुने, बढी उत्पादन दिने जात र फापरसम्बन्धी अन्य प्रविधिको विकास हुन नसक्नु, दाना सानो हुने र पिठो कम पर्ने, मीठे फापरमा न्यूनमात्रामा दाना लाग्ने, तीतोपन बढी, तुसारो र चिसोले उत्पादनमा असर गर्नुलगायत कारण फापरखेती संरक्षणमा चुनौती रहेको किसानको भनाइ छ ।


























